लकडाउन छल्दै काठमाडौंबाट गोरखा पुगेका सईलाई युवाहरूले बाटोबाटै फर्काइदिए

काठमाडौं । काठमाडौंबाट लकडाउन छल्दै गोरखा पुगेका नेपाल प्रहरीका एक जना नायब निरीक्षकलाई गोरखाका युवाहरूले बाटोबाटै फर्काइदिएका छन्। ड्रेसमै बा २१ च १२६१ नम्बरको स्कारपियो लिएर बिहीबार बिहान गोरखा पुगेका सई पिके यादवलाई बाह्रकिलोबाट फर्काइएको हो।

स्थानीय युवा अनिल कुँवरका अनुसार अत्यावश्यक भन्दै अनावश्यक रूपमा सवारी साधन लिएर आउजाउ गर्ने क्रम बढेपछि युवाहरूले नै पास छ कि छैन चेकजाँच गर्ने क्रममा सई यादवसँग पास नभएको खुलेको हो।

‘हामीले पास मागेको उहाँले छैन भन्नुभयो। सईसावले प्रहरीको पोशाक भने लगाउनु भएको थियो,’ कुँवरले भने, ‘जिल्लाको एसपीले युनिफर्ममा आएको भए छाडिदिन भन्नुभएको थियो हामीले मानेनौं।’

सई यादव काठमाडौंस्थित महानगरीय प्रहरी वृत्त कमलपोखरीमा कार्यरत रहेको खुलेको कुँवरले बताए। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले पास नभएका सईलाई बाटोबाटै आफूले फिर्ता पठाइदिएको जानकारी दिए।

‘उहाँ अफिसियल्ली आएको भए मलाई जानकारी आउथ्यो तर जानकारी नै छैन,’ अधिकारीले सेतोपाटीसँग भने, ‘पास नभेटिएपछि उहाँलाई काठमाडौं नै फिर्ता पठाइएको छ।’

उनले युवाहरूले भन्दा पनि आफूले नै सईलाई फिर्ता गरिदिएको दाबी गरे। तर युवाहरूले पासविनाका सवारीसाधनलाई बिहीबार बिहानैदेखि फिर्ता गरिदिएका छन्। उनीहरूले पोखराबाट आएको ट्याक्सी पनि फिर्ता गरिदिएका छन्।

लकडाउनका बेला बाहिरी जिल्लाबाट गोरखा भित्रने र गोरखाबाट बाहिर जानेलाई कडाइ गरिएको छ। प्रहरीले क,डाइसाथ निगरानी गर्न नसकेको भन्दै युवाहरूले सडकमै सवारी साधन चेकजाँच गरेका हुन ।-सेतोपाटीबाट

Be the first to comment

Leave a Reply

Your email address will not be published.