प्रधानमन्त्री ओली अ स्पताल भर्ना

काठमाडौं, १४ चैत । अस्वस्थ भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ ।

बिहीबार रातिदेखि उहाँलाई अस्वस्थता महसुस भएपछि राति नै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक, भास्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना गरिएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीको मुटुको चालमा केही तलमाथि देखिएको जनाइएको छ । यद्यपि बिहानसम्म उहाँको स्थिति सामान्य रहेको स्रोतले जनाएको छ । तर प्रधानमन्त्रीको सचिवालय र त्रिवि शिक्षण अस्पताल प्रशासनले भने यसबारे औपचारिक जानकारी गराएको छैन ।

गत फागुन १९ मा दोस्रोपटक मृगौला प्रत्यारोपणका लागि प्रम ओली सोही अस्पतालमा भर्ना हुनुभएको थियो । फागुन २१ गते उहाँकाे मिर्गौलाकाे दाेस्राे प्रत्यारोपण गरिएको थियो । शरीर निकै कमजाेर भएकाले डाक्टरहरुले प्रशस्त आराम गर्नुपर्ने बताइरहँदा पनि उहाँ फागुन ३० गते अस्पतालबाट डिस्चार्ज भई बालुवाटार फर्किनुभएको थियो ।

त्यसपछि उहाँ कोरोना महाबारीबारे सार्क राष्ट्रहरुबीचको भिडियो कन्फ्रेसमा जोडिनुभयो भने देशवासीका नाममा समेत सम्बोधन गर्नुभयो । पछिल्लो समय मन्त्रिपरिषद बैठकमा पनि उहाँ सक्रिय हुनुहुन्थ्यो । यिनै धपेडीले गर्दा उहाँको स्वास्थ्यमा असहजता आएको हुन सक्छ, जबकि पूर्ण स्वस्थ हुनका लागि उहाँले ६ महिना आराम गर्नुपर्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.