काठमाडाैँ, ७ चैत । कतार सरकारले भीडभाडमा नजान भनिएको निर्देशन अवज्ञा गरेको भन्दै थप १५० जना नेपाली कामदारलाई डिपोर्ट गरी नेपाल पठाइएको छ ।
कतार एयरवेजको उडान नम्बर ६४४ बाट उनीहरुलाई नेपाल पठाएको हो । यसअघि २५० जनालाई डिपोर्ट गरिएको थियो ।
विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोकथामका लागि भीडभाडमा नजान दिएको निर्देशन अवज्ञा गरेको भन्दै कतारले नेपालीसहित विदेशी कामदारलाई पक्राउ गरेको थियो ।
डिपोर्ट भएका नेपालीहरु सनैया क्षेत्रबाट पक्राउ परेका थिए । पक्राउ परेका नेपालीहरुले भने आफुहरुलाई क्याम्प नजिकैबाट पक्राउ गरी जेल लगेको बताएका छन् ।
उनीहरूलाइ काेराेना भाइरस संक्रमण भए/नभएको कुनै जाँच नगरी नेपाल पठाइएको थियो । नेपाल अवतरण गरेका उनीहरु कसैको पनि स्वास्थ्य परीक्षणको रिपोर्ट समेत नमागिएको नेपाली कामदारले गुनासो समेत गरेका छन् ।