साहेव ! कतारको भिसा लाग्यो, राजीनामा स्वीकृत गरिपाउँ

काठमाडौं। सत्य सेवा सुरक्षणमको नारासहित शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीभित्र जागिर छोड्नेको लर्को लाग्न थालेको छ। २४ घण्टे ड्युटीबाट पेट पाल्न मुस्किल भएपछि देशका सुरक्षा अंगभित्र मात्र होइन, निजामती सेवाका कर्मचारीहरु पनि स्थायी जागिर छोडेर विदेसिन थालेका हुन्। उच्च मनोबलका साथ राष्ट्रसेवामा खटिने प्रहरीहरु नै जीवन धान्ने चिन्ताले धमाधम राजीनामा दिने गरेका छन्। मंगलबार जिल्ला प्रहरी कार्यालय चितवनको प्राङ्गणमा पुग्दा यस्तै दृश्य देखियो। जिल्ला प्रहरी प्रमूख प्रहरी उपरीक्षक दानबहादुर मल्लको कार्यकक्षमा १ हवल्दार र ३ जवानको टोली पुगेको थियो। उनीहरुको तन स्वदेश थियो। तर, मन विदेशी भूमिमा। उनीहरु वैदशिक रोजगारीको सम्पूर्ण प्रक्रिया पूरा गरेर आफ्नो हाकिमकहाँ हाजिर भएका थिए। उपस्थित ४ जनामध्ये हेटौंडा, गोरखा र लमजुङका प्रहरी कर्मचारी थिए, जो आफ्नो राजीनामा स्वीकृतिका लागि एसपी मल्लसँग अनुनय गर्न उनको कार्यकक्षमा हाजिर थिए। त्यसमध्ये एक प्रहरी हवल्दारले भने, ‘साहेव १ मेरो कतारको भिसा लाग्यो, राजीनामा स्वीकृत गरिपाउँ।’

एसपी मल्लले सोधे, ‘कतार किन जाने, भिसा आइसकेको हो ?’ प्रतिउत्तरमा हवल्दारले मलिनो स्वरमा भने, ‘साप, भिसा आइसक्यो, सेक्युरिटी गार्डमा जाने हो। जाने बेला राजीनामा स्वीकृतिको पत्र खोज्दो रहेछ। साप, छिटो गर्दिनुपर्ला। त्यही जाहेर गर्न आएको हजुर।’ आफ्ना हाकिमसँग राजीनामा स्वीकृतिको अनुनय गरिरहँदा उनको अनुहारमा कुनै चमक थिएन। बरु, चेहराले हिनताबोधको भाषा बोल्थ्यो। हवल्दार मात्र होइन, बाँकी ३ सिपाही पनि राजीनामा स्वीकृतिको अनुनयका लागि नै एसपी मल्लकहाँ पुगेका थिए। उनीहरुको एउटै माग थियो, ‘राजीनामा छिटो स्वीकृत होस्। आफ्नो योजनामा बाँकी जीवनको गन्तव्य छनोट गर्न सकियोस्।’ एक सिपाहीले भने, ‘राजीनामा स्वीकृत नभए भगौडामा गनिदो रहेछ। साप, छिटो गर्दिनुपर्ला हजुर।’

राजीनामा दिन आएका प्रहरी कर्मचारी खाडी मुलूकमा सेक्युरिटी गार्डका लागि जाने तयारीमा थिए। भिसासमेत आइसकेका कारण राजीनामा स्वीकृतिका लागि उनीहरु आफ्ना हाकिमकहाँ बिन्ती बिसाउन आएका थिए। चारमध्ये एक सिपाहीले भने, ‘आफ्नै गाडी किनेको छु साप, अब त्यही चलाउनुपर्ला। हेटौंडा जान्छु, त्यही गाडी चलाएर खान्छु।’ राजीनामापत्र बोकेर आएका आफ्ना कर्मचारीतिर हेर्दै मल्लले भने, ‘हामी पनि तिमीहरुको भविष्य राम्रो होस् भन्ने चाहन्छौं। विदेशमा जाने कोही पनि नेपाली फस्नु हुँदैन। तिमीहरु गैरकानूनी बाटोबाट जान लागेका त होइनौ नि ? विदेश जाने कुरा राम्रोसँग बुझेर मात्र जानू, पछि फसियो भन्न नआउनू।’ उनको आदेशमा एक खालको आत्मीयता र संगठनको भविष्यबारे चिन्ता प्रष्टै झल्कन्थ्यो।

एसपी मल्लले चारै जना कर्मचारीको भिसा प्रक्रिया र अन्य विषयको जानकारी लिए। उनले विदेश जानूअघि सबै कुरा बुझ्न र सरकारी जागिर छोड्नुअघि राम्रोसँग सोच्न सुझाए। अन्तिममा फाइल हेर्दै एसपी मल्लले भने, ‘चारै जना एकैपटक जाँदा संगठनको काममा बाधा पर्छ, सकभर सरकारी जागिर नछोड्नु नै राम्रो हो। तर, जाने नै भए म पालैपालो सबैको राजीनामा स्वीकृत गर्ने व्यवस्था मिलाउँछु।’ मल्लले राजीनामाको फाइल ल्याउने ड्युटी अधिकृतलाई भने, ‘यिनीहरुको फाइल क्रमैसँग स्वीकृत गर्नू। यिनीहरुको प्रशंसा पत्र तयार पार्नू र पुरस्कृत गर्ने बन्दोबस्त गर्नू। यिनीहरु विदेशमा सेक्युरिटीमा जाँँदा पनि नेपालमा राम्रो काम गरेको अभिलेख बनाएर पठाउनू।’ मल्लले उनीहरुको सफल भविष्यको शुभेच्छासमेत व्यक्त गरे। त्यसपछि चारै जना प्रहरीहरु फर्किए।

मंगलबार जिल्ला प्रहरी कार्यालयमा देखिएको दृश्य एउटा दृष्टान्त मात्र हो। करीब १ लाखको हाराहारीमा रहेका नेपाल प्रहरीका कर्मचारीमध्ये २८ देखि ३० हजार कर्मचारीहरु वैदेशिक रोजगारीका लागि मेनपावरका अफिसमा आफ्ना कागजात बुझाएका छन्। उनीहरुले प्रहरीको जागिरभित्र होइन, वैदेशिक रोजगारीमा भविष्य देख्न थालेका छन्। यसले नेपाल प्रहरी लगायतका सुरक्षा अंगप्रति कर्मचारीको बिकर्षणलाई राम्रैसँग झल्काउँछ। प्रहरी प्रशासनको मनोबल उच्च भए मात्र देशमा सुव्यवस्था, अमनचयन, शान्ति स्थापना हुन सक्छ। त्यसबाट राज्यका सबै नागरिक सुरक्षित र सन्तुष्ट हुन सक्दछन्। तर, राज्यकै सुरक्षाको जिम्मेवारी लिएको प्रहरी प्रशासन आफ्नै पेट पाल्ने पीडामा छट्पटिइरहेको हुन्छ। उनीहरुले महिनाभरि कमाएको तलवले १५ दिन पनि खान पुग्दैन। अहिले प्रहरी कर्मचारीका लागि सरकारी जागिर ‘तातो आलु’ भएको छ।

प्रहरी प्रशासनका अधिकृतभन्दा तल्लो तहका कर्मचारीका लागि पेट पाल्नै मुस्किल छ। अधिकृतभन्दा माथिका कर्मचारी पनि मन फुकाएर खर्च गर्नसक्ने अवस्थामा छैनन्। यस वर्ष मात्रै नेपाल प्रहरीका ४,६०० भन्दा बढी कर्मचारीहरुले जागिर छोडेर वैदेशिक रोजगारीमा छिरेका छन्। कतिपय जागिर छोडेर सानो लगानीमा व्यवसाय गर्न तम्सिएका छन्। काठमाडौं उपत्यकामा चार जनाको परिवार पाल्न कम्तिमा चालीस हजार मासिक आम्दानी चाहिन्छ। उपत्यकामा १२ हजार नतिरी २ कोठा भेट्न मुस्किल पर्छ, बत्ती पनिको महशुल अलग्गै। यातायात खर्च, खाजा खर्च, फोन खर्चदेखि बच्चाहरुको शिक्षादीक्षासम्मको खर्चको ग्राफ कहालिलाग्दो छ। तल्लो तहका कर्मचारीको १७–१८ हजार तलव घरभाडा तिर्दैमा स्वाहा हुन्छ। अझ बोर्डिङ स्कूलमा बच्चा पढाउनेहरुको त घरखेत नै जान्छ।

एउटै तहका निजामती कर्मचारी र प्रहरी कर्मचारीमा प्रहरी नै बढी पीडामा छन्। कर्मचारीको बरु दैनिक भ्रमण भत्ता लगायत अन्य सेवा सुविधाको स्रोत पनि हुन्छ। उनीहरु कलेज, विद्यालय, ट्युसन कक्षा लगायतका ‘साइड जब’ पनि गर्न सक्छन्। तर, प्रहरीका लागि त्यो सुविधा छैन। उनीहरुका लागि दिन–रात, भोक–प्यास, चाड–पर्व, परिवार–आफन्त केही पनि भन्ने छुट छैन। २४ सैं ‘हाइएलर्ट’ रहनुको पीडा अनुभव गर्नेलाई मात्र थाहा हुन्छ। प्रहरी कर्मचारीका लागि एउटा अवसर हो शान्ति मिसन। वर्षेनी केही कोटामा प्रहरी कर्मचारी हइटी र सुडान जाने गर्दथे। तर, यस वर्षदेखि त्यो कोटा पनि कटौति हुँदैछ। अब प्रहरी कर्मचारी मिसनका लागि सुडान मात्र जान पाउनेछन्, त्यो पनि वर्षमा एकपटक मात्र छनोट हुने गर्दछ। तल्लो तहका प्रहरी कर्मचारी सेवा अवधिमा एकपटक मात्र मिसनमा जाने अवसर पाउँछन्, त्यो पनि प्रतिस्पर्धामा अब्बल मात्र। बाँकी सबै मिसनको सपना बोक्दै सेवाबाट निवृत्त हुन्छन्।

उपत्यकामा ट्राफिक प्रहरीका दुख कम्ति पीडादायी छैन। धुवाँ, धुलो, जामको सास्ती पैदलयात्रीभन्दा बढ्ता खेप्छन् ट्राफिक प्रहरी। दैनिक आठ घण्टाको ड्युटीले उनीहरु श्वासप्रश्वास, मुटु रोग, छाला सम्बन्धि रोग, प्यारालाइसिस मात्र होइन, डिप्रेसनको समेत शिकार हुने गरेका छन्। उपत्यकामा ट्राफिकमा काम गर्नै मान्दैनन् प्रहरी। त्यसैकारण मूख्यालयले ३ वर्ष नपुगी उपत्यकाको ट्राफिकको सरुवा नहुने नियम बनाएको छ। यी सारा दुखका बीच पनि उनीहरु आफ्नो काम गरिरहेका छन्।

देशको शान्ति सुरक्षाको जिम्मा लिएकै प्रहरीहरु जागिर छोडेर विदेसिने लाइनमा छन्। यसले सम्पूर्ण समाजमा नै नकारात्मक सन्देश गएको छ भने अर्कोतिर आपराधिक मनोवृत्तिको मनोबल उठेको छ। राज्यले प्रहरीलाई सरकारी जागिरभित्रै जीवन देख्ने परिस्थिति नबनाएसम्म यो बिडम्वना रोकिँदैन। यसतर्फ राज्य र प्रहरीको नेतृत्व संवेदनशील हुन जरुरी छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.