भारतीय राजदूतावासमा छात्रवृत्तिको नाममा घो’टाला

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)की प्रभावशाली नेतृ एवं संघीय संसदको प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले पछिल्लो समय भारतीय दूतावासमा आफ्नो राम्रो पकड बनाएकी छन् । पछिल्लो केही समयदेखि उनलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा भारतका कार्यवाहक राजदूत डा. अजय कुमारले आर्थिकदेखि भौतिक संरचना निर्माणको लागि दूतावासबाट करोडौं रुपैयाँ उपलब्ध गराइ रहेको खुलासा भएको छ ।

स्रोतका अनुसार सांसद चौधरी दिनै पिच्छे दूतावास धाउने गरेकी छन् । सांसद चौधरी दूतावासमा कार्यवाहक राजदूत अजयसँग सहयोग माग्न विभिन्न योजनाहरु लिएर आउने गरेको स्रोतको भनाइ छ । ‘अचेल कार्यवाहक राजदूत डा.अजय कुमारले सांसद चौधरीलाई अति नै सहयोग गरिरहेका छन् ।’ राजपा उच्च स्रोतले भन्यो ।

केही दिनअघि महोत्तरीको पिपरा गाउँपालिकाले भारतीय दूतावासको सहयोगमा इन्डो नेपाल महिला समाजमार्फत सांसद चौधरीको सिफारिसमा छात्रवृति दिइने गरी सूचना निकालेपछि समाजिक संजालमा टिका टिप्पणी हुन थालेको छ ।

ब्याचलर र मास्टर डिग्रीको छात्रवृतिका लागि गाउँपालिकाले सुचना निकाल्दै सांसद चौधरीको सिफारिसमा दिने उल्लेख गरेपछि त्यहाँका जनताले समाजकि संजालमा भारतीय दूतावासलाई जोडेर विभिन्न टिका टिप्पणी गरिरहेका छन् ।

उक्त छात्रबृत्तिलाई समेत सांसद चौधरी र कार्याबाहक राजदूत अजयको सम्बन्धको परिणामको काणबाट विश्लेषण हुन थालेको छ । सांसद चौधरीको यस्तो रवैयालाई लिएर राजपा पार्टीभित्र समेत विरोध हुन थालेको छ ।

राजपा पार्टीभित्रकै कतिपय केन्द्रीय नेताहरुले यसको विरोधसमेत गरिरहेका छन् । राजपाका एक नेताका अनुसार सांसद चौधरीलाई मात्र दूतावासले सहयोग गरेकोमा पार्टीभित्र अनेकन टिकाटिप्पणी भइरहेको छ । सांसद चौधरीलाई मात्र दूतावासले सहयोग गर्ने, अरु नेताहरुलाई किन नगरेको, यसमा केही रहस्य रहेको छ,’ ती नेताले भने, ‘यस विषयमा छलफल हुने तयारी भइरहेको छ ।’

ती नेताका अनुसार सांसद चौधरीलाई चढ्न दुतावासको बजेटबाट स्कोरपियो गाडी उपलब्ध गराइएको छ । त्यसैगरी दूतावासले प्रत्येक महिनामा विभिन्न कार्यक्रमको लागि ५ देखि १० लाख रुपैयाँ उपलब्ध गराउँदै आएको स्रोतको भनाइ छ ।

केही समयअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी अदित्यनाथ नेपाल भ्रमणमा आएको बेला सांसद चौधरीले विशेष भूमिका खेलेकी थिइन् । जसकारण उनको सम्बन्ध कार्यवाहक राजदूत अजय कुमारसँग बढेको स्रोतको भनाइ छ । यस्तो गतिविधिले कार्यवाहक राजदूत अजय कुमारको सहयोग गर्ने मोह सांसद चौधरीप्रति बढ्दै प्रष्ट बुझ्न सकिन्छ ।

भारतीय दूतावासभित्र छात्रवृति वितरणमा करोडौको घोटाला !

भारतीय दूतावासभित्र छात्रवृति वितरणमा करोडौं रुपैयाँको चलखेल हुने गरेको छ । एक विद्यार्थीले इन्जिनिरिङ पढ्नका लागि भारतीय दूतावासमा छात्रवृति प्राप्त गर्न लिखितदेखि मौखिक परीक्षा दिए ।

दुवै परीक्षा राम्रो भएपनि उनले छात्रवृति प्राप्त गर्न सकेनन् बरु उनीसँगै कम योग्यता भएको व्यक्तिले परीक्षा दिएर छात्रवृति प्राप्त गर्न सफल भयो । कारण थियो – आर्थिक चलखेल ।

ती विद्यार्थीले दुवै परीक्षा राम्रै गरेको हुनाले छात्रवृति पाउनेमा ढुक्क थिए । तर अचानक उनलाई बानेश्वरको एक कन्स्लटेन्सीले फोन गरेर भारतीय दूतावासको छात्रवृति पाउनु छ भने ८ लाख रुपैयाँ दिनुपर्छ भनेपछि उनी पैसा खोज्ने प्रयासमा लागे । तर पैसा जुटाउन नसकेपछि उनले छात्रवृति पाउन सकेनन् ।

यसरी कन्स्लटेन्सी र दूतावासका कर्मचारीहरुको मिलोमतोमा भारतीय छात्रवृति पाउनकै लागि लाखौँ लाखको चलखेल हुने गरेको यस घटनाले प्रष्ट पारेको छ । स्रोतका अुनसार कन्स्लटेन्सी र दूतावासका कर्मचारीहरु माथि पैसा बुझाउनुपर्छ भन्दै छात्रवृति प्राप्त गर्नेहरुसँग पैसा असुल्ने गरेका छन् ।

दूतावासको छात्रवृति सजिलै प्राप्त गर्न इन्जिनिरिङका लागि ८ लाख (भारु ५ लाख), एमबीबीएसका लागि ८० लाख (भारु ५० लाख) र एमडीका लागि १ करोड ६० लाख ( भारु एक करोड) रुपैयाँ दूतावासका कर्मचारीहरुले कन्सलटेन्सी मार्फत असुल्ने गरेको स्रोतको भनाइ छ ।

केही दिनअघि महोत्तरीको पिपरा गाउँपालिकाले भारतीय दूतावासको सहयोगमा इन्डो नेपाल महिला समाजमार्फत राष्ट्रिय जनता पार्टी (राजपा)की प्रभावशाली नेतृ एवं संघीय संसदकी प्रतिनिधि सभा सदस्य चन्दा चौधरीको सिफारिसमा छात्रवृति दिइने गरी सूचना निकालेको थियो ।

नेताहरुकै सिफारिसमा भारतीय राजदूतावासले छात्रवृति दिइनुले नेपालको राजनीतिमा भारतीय प्रभावबारे छर्लंग हुन सकिन्छ । त्यसो त दूतावासले दिने छात्रवृत्तिमा कार्याबाहक राजदूत नै मुछिने गरेका छन् । अजय कुमारले नै छात्रवृत्तिको नाममा घोटाला गर्ने गरेको दूतावास स्रोत बताउँछ । छात्रवृति प्राप्त गर्नेसँग पैसा असुल्ने कुरा विवादमा आएपछि दूतावासमा कार्यरत कर्मचारी निरज कुमार जैसवालको नाम सतहमा आएको छ ।

यसरी पैसा असुलेको भन्दै जैसवालको नाम बाहिरआएपनि दूतावासले कुनै कारवाही गरेको छैन । जैसवाल कार्यबाहक राजदूतका निकट व्यक्ति हुन् । निरजलाई कारवाही गर्नुको साटो उपहार स्वरुप कार्यवाहक राजदूत अजय कुमारले पोल्टिकल वीङमा लगेर बचाएका छन् । कार्यवाहक राजदूत निरजलाई कुनै कारवाही नै नगरी काखी च्यापेर राखेका छन् ।

सांसद चौधरीलाई राजदूतावाससँग रहस्यमयी सम्बन्धको विषयमा प्रतिक्रिया लिन उनको मोबाइलमा सम्पर्क गर्दा उनले फोन उठाइनन् ।-दियो पोस्ट

Be the first to comment

Leave a Reply

Your email address will not be published.