प्रधानमन्त्री प्रचण्डको निर्देशन- ‘तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउनुस्’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन्।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिीपरषद्को कार्यालयमा आज वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री दाहालले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएका हुन्। आपूर्ति सचिव नेपाल आयल निगमको अध्यक्ष रहने व्यवस्था छ । निगमको पछिल्लो विवरण अनुसार १५ दिनमा रु ९९ करोड नाफा हुने देखिएको छ ।

निगमले रु १८ अर्ब बराबरको रकम तिर्नुपर्ने दायित्व रहेको भन्दै मूल्य घटाउन तयार भएको छैन । चौतर्फी रुपमा मूल्य घटाउन निगमलाई दबाब परेपनि अस्वीकार गर्दै आएको छ । लगातार अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागे पनि दायित्व बाँकी रहेको भन्दै मूल्य घटाउन निगम तयार नभएपछि प्रधानमन्त्रीले नै निर्देशन दिनुपरेको हो ।

तातोपानी नाकामा चहलपहल शून्य
चौतारा, २१ पुस (रासस) :
काठमाडौँदेखि एक सय २४ किलोमिटर दूरीमा रहेको तातोपानी नाका कुनै समय गुलजार थियो । चिनियाँ बजारमा सामान खरिद गर्न पुग्ने व्यापारी र उपभोक्ताका कारण तातोपानी नाकामा चहलपहल निकै बढी थियो ।

तर २०७२ साल वैशाखमा आएको भूकम्पपछि भने तातोपानी नाकाको मुहार फेरिएको छ । अहिले समय भूकम्पले भत्काएका जीर्ण भवन र सीमा सुरक्षार्थ प्रहरी कार्यालय बोहक अरु छैन । कुनै रेष्टुराँ र होटलमा भ्याइनभ्याइ हुने यो क्षेत्रमा यति बेला एउटा पनि होटल तथा रेष्टुराँ छैन ।

चीनसँग जोडिएको नेपालको सबैभन्दा पुरानो नाकाबाट भूकम्पपछि आंशिक रूपमा आयात खुला भएको चारवर्ष भए पनि निर्यात बन्द भएको सात वर्ष भइसकेको छ । जसका कारण चहलपहल शून्य जस्तै अवस्थामा पुगेको हो ।

तातोपानी नाका नियमित सञ्चालन नभएपछि मितेरीपुलदेखि चीन–नेपाल दुवैतर्फको करिब पाँच किलोमिटर क्षेत्रमा चहलपहल छैन । यो नाकाबाट कहिलेकाँही मात्र सामान आयात भने भइरहेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार भएपछि चीन सरकारले तीन वर्षदेखि बन्द रहेका रसुवागढी र हुम्ला नाका खोलेको छ । हाल रसुवागढी नाकाबाट निर्यात सुरु भएको छ भने यारी नाकाबाट आयात भइरहेको छ । तर व्यवसायिक रुपले महत्वपूर्ण मानिएको सिन्धुपाल्चोकको तातोपानी नाका तीन वर्षदेखि पूर्ण रुपमा खुलेको छैन । केरुङबाट कन्टेनर ल्याउँदा ढुवानी भाडा बढी लाग्ने भएकाले नेपाली व्यापारीहरु तातोपानी नाकाबाटै सामान ल्याउन खोज्छन् ।

नेपाल च्याम्बर अफ कमर्शका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ कोटा तोक्नेभन्दा पनि आवश्यक सामग्री ल्याउने गरी चीन सरकारले वातावरण बनाउनुपर्ने बताउनुहुन्छ । चीनमा तीन वर्षदेखि जारी बन्दाबन्दी अहिले मात्रै हटेकाले नाकाबाट आयात–निर्यात खुला हुने स्थानीयमा आशा भने कायमै छ । चिनियाँ पक्षले बन्दाबन्दी हटेपछि खासाबाट पहिलेको तुलनामा बढी कन्टेनर नेपाल पठाउन थालेका छन् ।

लामो समयदेखि नाका नखुल्दा त्यहाँ कार्यरत मजदूरहरु समस्यामा परेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटाले बताउनुभयो । “सामान लोड र अनलोड गर्ने मजदुरहरुलाई काम नै पुगेको छैन”, उहाँले भन्नुभयो, “आयात र निर्यात पहिले झैँ भयो भने उनीहरुले पनि काम पाउँछन् ।”

नाका बन्द हुँदा त्यहाँ कार्यरत व्यवसायीहरु पलायन हुन थालेका छन् । लिपिङमा झोले पोके व्यापार र पर्यटकको भारी बोकेर गुजारा गर्ने स्थानीयहरु विदेश जान बाध्य भएका छन् । भोटेकोसी गाउँपालिकाको पाँच वटा वडा र बाह्रबीसे नगरका दुई वटा वडाका अधिकांश स्थानीय विदेश पलायन भएका हुन् । भोटेकोसी नारायणथान निवासी शेर्पाले तातोपानी नाका बन्द भएको आठ वर्षयता यस क्षेत्रका अधिकंश घर खाली भएको र धेरैजसो विदेश गएको बताउनुभयो ।