अब यसरी मेस्सी बसेको कतार विश्वविद्यालयको कोठालाई संग्रहालय बनाइने

अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सी बसेको कतार विश्वविद्यालयको एउटा कोठालाई संग्रहालय बनाइने भएको छ । कतारमा भएको फिफा विश्वकप २०२२ का क्रममा मेस्सी बसेको विश्वविद्यालयको कोठा नम्बर बी २०१ लाई सानो संग्रहालयमा परिणत गरिने विश्वविद्यालयको भनाइलाई उद्धृत गर्दै द पेनिन्सुला कतारले लेखेको छ ।

कतार विश्वविद्यालयले अर्जेन्टिनी टिम बसेका कोठाहरुको फोटो सामाजिक सञ्जालमा शेयर गर्दै आएको थियो । त्यही क्रममा मेस्सी बसेको कोठा नम्बर बी २०१ को फोटो शेयर गर्दै त्यसलाई संग्रहालय बनाउने घोषणा गरेको हो । तर त्यो संग्राहलय अहिलेकै अवस्थामा सञ्चालन गर्ने कि क्याम्पस परिसरमा अन्त कतै लिएर राख्ने भन्ने खुलाएको छैन ।

अ‍र्जेन्टिनी फुटबल टाेली महँगा पाँच तारे होटलमा नबसेर कतार विश्वविद्यालयका कोठामा बसेको थियो । डेली मेलका अनुसार आफ्नो पारम्पारिक ‘बिफ बारबिक्यु’ (एक प्रकारको गोरुको सेकुवा) बनाउन सजिलो हुने भएकाले अ‍ेर्जेन्टिनी फुटबल टिम त्यहाँ बसेको थियो ।

विश्वविद्यालयले राखेको एउटा भिडियोमा मेस्सी बसेको कोठामा उनीहरुकै जर्सीको जस्तो सेतो र नीलो रङ्ग लगाइएको छ । यस्तै हलमा विश्वकप विजयी हुँदाका तस्बिरहरु झुण्ड्याइएका छन् । यस्तै जर्सी र खेलाडीहरुका अटोग्राफ लेखिएका छन् ।

फिफा विश्वकप २०२२ काे विजेता अर्जेन्टिना हाे । फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना तेस्राेपटक विश्विकप विजेता बनेकाे हाे ।

जरिवाना तिर्दै निर्माण कम्पनी
भजनी, १३ पुस (रासस)ः
कैलालीमा सञ्चालन भएर पटक–पटक म्याद थप भएर पनि काम सम्पन्न हुननसकेका निर्माण कम्पनीलाई टीकापुर नगरपालिकाले कारबाही सुरु गरेको छ । गत आर्थिक वर्षसम्म आयोजनाको सम्झौता भएर चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म काम सम्पन्न गर्न नसकेका आयोजनाको काम नसकेका निर्माण कम्पनीलाई जरिवाना लाग्ने गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

कार्यपालिकाको निर्णयबाट आयोजनाको म्याद थप नहुने निर्णय गरेपछि काम सम्पन्न हुननसकेका आयोजनाको म्याद थप नहुने र नियमानुसारको जरिवाना तिरेर काम गर्न बाध्य भएका छन् ।

नगरपालिकामा समयमा काम सम्पन्न गर्न नसकेका जरिवानामा परेका नौवटा आयोजनाको काम गरिरहेका छ निर्माण कम्पनीले जरिवाना तिर्न थालेका हुन् । समयमा काम गर्न नसकेका राजन निर्माण सेवा टीकापुर, सन्तोष विल्डर्स अछाम, रसुन निर्माण सेवा, भट्टराई कन्स्ट्रक्सन प्रालि, युकि विल्डर्स टीकापुर, सन्तोष विल्डर्स टीकापुर रहेका छन् । जरिवाना परेका निर्माण कम्पनीले आयोजनाको सम्झौता लागतको शून्य दशमलव शून्य पाँच प्रतिशत रकम दैनिक तिर्नुपरेको छ । त्यति गर्दा पनि काम सकिएन तर आयोजनाको सम्झौता भन्दा दश प्रतिशत रकम जरिवाना बापत भुक्तानी हुने अवस्था देखिएमा सम्झौता नै तोड्नुपर्ने प्रावधान रहेको नगरपालिकाका इन्जिनियर नवराज जोशीले बताउनुभयो ।

नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजन खडकबहादुर शाहले वर्षौदेखि काम लिने तर समयमा काम गर्न नसकेका नगरपालिकाबाट सञ्चालन भएका आयोजनाहरुको म्याद थप नभएको बताउनुभएको छ । उहाँले पौष एक गतेदेखि काम नसकिएका आयोजनाले जरिवाना तिर्ने बताउनुभयो ।

“जुन निर्णय भएको छ त्यहीँअनुसारको कारबाही काम सम्पन्न गर्न नसकेका निर्माण कम्पनीले भोग्नुपर्ने छ ।” उहाँले भन्नुभयो,“हामीले पहिलेदेखि नै भन्दै पनि आएका थियौँ, म्याद थप हुँदैन भनेर भन्दाभन्दै पनि काम सम्पन्न नभएका निर्माण कम्पनीले जरिवाना तिर्छन् ।”
–––