झापाको प्रत्यक्ष तर्फको मतगणना सम्पन्न, ओलीको दबदबा कायमै

युवराज आचार्य,झापा । मंसिर ४ गतेसम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको अन्तिम मत परिणामा आइसकेको छ । पाँच प्रतिनिधिसभा र दश प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको झापामा शिर्ष नेताहरु चुनावी प्रतिष्पर्धामा उत्रेका कारण चर्चामा रह्यो ।

नतिजा कस्तो आउला, जिल्लाबाट को–को निर्वाचित हुनेहुन् ? संसद्को बाटो क–कस्ले तय गर्ने हुँन भन्ने सबैको चासोको बिषय बन्दा शिर्ष नेताहरु पनि आफ्नो प्रतिष्ठा जोगाउन गर या मर को अवस्थामा चुनावी मैदानमा होमिएका थिए । तर, अब अन्तिम नतिजा आइसकेको छ ।

अन्तिम मत परिणाम अनुसार जिल्लामा नेकपा एमालेका अध्यक्ष केपी शर्माओली, नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्गदेन, एमाले नेता देबराज घिमिरे र एलपी साँवा निर्वाचित भएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर ५ बाट सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका काँग्रेस नेता खगेन्द्र पाण्डव अधिकारीलाई २८, ५७६ मत अन्तरले पराजित गर्दै छैटौं पटक यस क्षेत्रबाट निर्वाचित भए । ओलीले ५२, ३१९ मत प्राप्त गर्दा अधिकारीले २३, ७४३ मत मात्रै प्राप्त गरे ।

झापा क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ३,२७६ मत अन्तरले पराजित गर्दै राप्रपा अध्यक्ष लिङ्गदेनले दोस्रो पटक सो क्षेत्रबाट संसदमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरे । उनले ४०,६७२ मत प्राप्त गर्दा सिटौलाले ३७,३८६ मत मात्र प्राप्त गरे ।

यता, झापा क्षेत्र नम्बर १ मा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विजयी हासिल गरेका छन् । उनले एमाले स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेललाई १४,२७५ मत अन्तरले पराजित गरे । बिगतको दुई निर्वाचनमा पराजित भएका शर्मा तेस्रो पटकमा भने, विजयी हुँदै यस क्षेत्रबाट संसदमा आफ्नो प्रतिनिधित्व गर्ने अवसर पाए । शर्माले ३९,६२४ मत प्राप्त गर्दा खरेलले २५, ३४९ मत मात्रै ल्याए ।

झापा क्षेत्र नम्बर २ मा एमाले नेता देबराज घिमिरे निर्वाचित भए । उनले २८,६९७ मत प्राप्त गरी विजयी हुँदा उनको निकटतम् प्रतिद्धन्धी स्वतन्त्रबाट उम्मेदवार स्वागत नेपालले २६,४४१ मत प्राप्त गर्न सफल भए ।

त्यस्तै झापा क्षेत्र नम्बर ४ मा दोस्रो पटक पनि एमाले नेता लालप्रसाद साँवा (एलपी) निर्वाचित भए । उनले नेपाली काँग्रेसका जिल्ला सभापती देउमान थेवेलाई ६,८६७ मत अन्तरले पराजित गरे । साँवाले २९,३१५ मत ल्याउँदा थेवेले २२,४४८ मत मात्रै प्राप्त गरे ।

जिल्लामा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादीले एक भएर चुवानी मैदानमा उत्रेका थिए भने, एमाले र राप्रपा तालमेल गरेका थिए । प्रत्यक्ष तर्फको अन्तिम मत परिणाम अनुसार झापामा एमाले पहिलो शक्ति बनेको छ । एमालेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २,४ र ५ मा विजयी हाँसिल गरेको छ । उसले प्रदेससभा अन्तर्गत जिल्लाको दस मध्ये छ स्थानमा जितेको छ । एमालेले क्षेत्र नम्बर २ को दुई वटा, तीनको एउटा, चारको एउटा र पाँचको दुई वटा क्षेत्रमा विजयी बनेको छ । तर, २०७४ को निर्वाचनभन्दा यो निर्वाचनमा एमालेले दुई सिट गुमाएको हो ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेसले संघमा समान १÷१ र प्रदेशमा २÷२ सिटमा विजयी हासिल गरेको छ । २०७४ को निर्वाचनमा शून्य हैसियतमा रहेको कांग्रेसले यो पटक प्रतिनिधिसभा अन्तर्गत झापा क्षेत्र नम्बर १ र प्रदेससभा तर्फ झापा १ मा एउटा र झापा ३ मा एउटा सिट जित्न सफल भएको छ । त्यस्तै अघिल्लो निर्वाचनमा संघमा एक सिट मात्रै विजयी भएको राप्रपाले यो पटक प्रतिनिधिसभा तर्फ झापा क्षेत्र नम्बर ३ र प्रदेससभा तर्फ झापा १ मा एउटा र झापा ४ मा एउटा सिट जित्न सफल भयो । यो निर्वाचनमा राप्रपाले प्रदेससभातर्फ दुई सिट बढाएको हो ।

यता यो निर्वाचनमा काँगे्रससंग गठबन्धन गरेको नेकपा माओवादी केन्द्र शुन्यमा झरेको छ । माओवादीले प्रतिनिधिसभातर्फको एक र प्रदेससभा तर्फको दुइवटै सिट गुमाएको छ ।-news24nepal