एमाले महासचिव शंकर पोखरेल पराजित, रेखा शर्मा विजयी

दाङ, ८ मंसिर । दाङ क्षेत्र नंं. २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब दुई सय मतान्तरले हराउँदै गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भएकी छिन् ।

उनी १९६ मतान्तरले निर्वाचित भएकी हुन् ।  उनले २६ हजार ८ सय ७७ मत प्राप्त गरेर निर्वाचित भएकी हुन्  भने उनका प्रतिस्पर्धी एमालेका महासचिव पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका छन् । 

जम्मा ७९ हजार ४ सय ४६ मत खसेको थियो । निर्वाचनमा रेखाको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो ।

चितवन २(१)मा एमाले र ३ (१)मा राप्रपा विजयी
चितवन, ८ मङ्सिर (रासस) ः
यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । जिल्लाको क्षेत्र नम्बर २(१) र ३(१)को मत परिणाम आएको छ ।

प्रदेशसभाअन्तर्गत चितवन क्षेत्र नम्बर २(१) मा कृष्णप्रसाद सिलवाल विजयी हुनुभएको छ । उहाँ एक हजार दुई सय ४० मतान्तरले विजयी हुनुभएको हो । उहाँले १६ हजार पाँच सय मत प्राप्त गर्दा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका घनश्याम दाहालले १५ हजार दुई सय ६० मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका रुक्मागत पोख्रेलले पाँच हजार एक सय ९३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत विनोद अधिकारीले जानकारी दिनुभयो । यस क्षेत्रमा ४३ हजार ९७ मत खसेको थियो । जसमा तीन हजार ५० मत वदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै चितवन क्षेत्र नं ३ (१) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरबहादुर तामाङ विजयी हुनुभएको छ । तामाङले नेपाली कांग्रेसका प्रा डा सूर्यकान्त घिमिरेलाई दुई हजार आठ सय ५७ मतले पछि पार्दै विजयी हुनुभएको हो । आज बिहान सकिएको प्रदेशसभा निर्वाचन क्षेत्रको मतगणना अनुसार १७ हजार आठ सय १३ मतका साथ तामाङ प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको हो ।

उहाँको निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका प्रा डा सूर्यकान्त घिमिरेले १४ हजार नौ सय ५६ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) का कृष्ण भुर्तेलले ११ हजार छ सय २३ मत पाउनुभएको छ । यस क्षेत्रमा आठ जना उम्मेदवार रहेका थिए । क्षेत्र नम्बर ३ (१)मा ५० हजार दुई सय १२ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।—