गोरखा–२ माओवादी केन्द्रका अध्यक्ष दाहाल १२ हजार मतले अगाडि

गोरखा, ७ मङ्सिर (रासस) : चर्चामा रहेको गोरखा क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्य प्रतिस्पर्धीसँग १२ हजारभन्दा बढी मतले अग्रता कायम गर्नुभएको छ ।

आज साँझ ६ बजेसम्मको मतगणनामा उहाँले २१ हजार ६४ मत प्राप्त गर्दै आफ्नो अग्रता थप फराकिलो बनाउँदै लैजानुभएको हो । कूल ४१ हजार चार सय सात मतगणना हुँदा उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले आठ हजार चार सय ६३ मत पाउनुभएको छ ।

बुर्लाकोटी अध्यक्ष दाहालभन्दा १२ हजार छ सय ११ मतले पछाडि पर्नुभएको छ । त्यस्तै नेकपा (एमाले) का अब्दुस सलाम मियाँ भने तेस्रो स्थानमा रहनुभएको छ । उहाँले अहिलेसम्म पाँच हजार छ सय ३६ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिनुभयो ।

जुम्ला १ (१) मा स्वतन्त्र उम्मेदवार शाही विजयी
जुम्ला, ७ मङ्सिर (रासस) :
जुम्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (१) मा स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले एक हजार आठ सय ९९ मतान्तरले विजयी हुनुभएको छ ।

आज सम्पन्न मतगणनामा स्वतन्त्र उम्मेदवार शाही विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले बताउनुभयो । शाहीले कूल नौ हजार छ सय ५४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेस पार्टीका कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीले सात हजार सात सय ५५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार धीरेन्द्रराज गिरीले पाँच हजार चार सय ७० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । त्यस्तै नेमकिपाका राजेश्वर देवकोटाले छ सय ९४ मत प्राप्त गर्नुभएको छ । सो प्रदेशसभामा २४ हजार सात सय ५५ मत खसेको थियो । एक हजार ८२ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचित प्रदेशसभा सदस्य शाही विसं २०७४ को प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका गजेन्द्रबहादुर महतसँग झन्डै दोब्बर मतान्तरले पराजय हुनुभएको थियो । कांगे्रसले प्रदेशमा टिकट नदिएपछि शाहीले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको थियो ।

जिल्लाको दुईवटै प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले हार बेहोर्नुपरेको छ । जुम्लामा गठबन्धन ‘क्लिन स्वीप’ भएको छ । जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि निर्वाचन भएको थियो । प्रदेशसभा सदस्य (२) मा एमालेका टेकराज पछाईं निर्वाचित भइसक्नुभएको छ । प्रतिनिधिसभा सदस्यको मतगणना चलिरहेको छ ।
–––