रवि उक्लिए पहिलो स्थानमा

चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । यसअघि दोस्रो र तेस्रो स्थानमा रहेका उनको मतको अग्रता बढ्न थालेको हो । पछिल्लो अपडेट अनुसार लामिछानेले ३ हजार ९४९ मत पाएका छन् ।

दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठले ३ हजार १७७ मत पाएका छन् भने तेस्रोमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले २ हजार ७१२ मत पाएका छन् ।

नुवाकोट क्षेत्र नं १ मा एमाले र क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवार अगाडि
त्रिशूली, ६ मङ्सिर (रासस) ःप्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)का उम्मेदवार र क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको अग्रता कायम रहेको छ ।

जारी रहेको मतगणनाअन्तर्गत क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ छ हजार चार सय ६३ मतगणना हुँदा एमालेका उम्मेदवार बद्री मैनालीले दुई हजार छ सय ५८ मत ल्याउनुभएको छ भने नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हितबहादुर तामाङले दुई हजार तीन सय २१ मत र राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार डा प्रद्युम्न महतले सात सय एक मत प्राप्त गर्नुभएको छ ।

उक्त क्षेत्रमा ककनी गाउँपालिकाको वडा नं ४, ५, ६, ७ र ८ को गणना सम्पन्न भएको छ । सोही निर्वाचन क्षेत्रको प्रदेशतर्फ प्रदेश २ मा दुई हजार दुई सय ४७ मतगणना हुँदा एमालेका पूर्णलाल श्रेष्ठले नौ सय ७९ मत, नेपाली कांग्रेसका रमेशकुमार महतले आठ सय चार मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका विमल थापाले दुई सय ५१ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी भयो ।

क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवार अगाडि

निर्वाचन क्षेत्र नं २ र उक्त क्षेत्रको प्रदेश १ मा जारी रहेको मतगणनामा सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवारले अग्रता कायम राखेका छन् । प्रतिनिधिसभातर्फ तीन हजार आठ सय ६० मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसीले दुई हजार ७६ मत, नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडाले नौ सय ५५ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डेले सात सय पाँच मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो ।

उहाँको अनुसार उक्त क्षेत्रको प्रदेश–१ तर्फ माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढङ्गानाले दुई हजार दुई सय ५६ मत ल्याएर अग्रता कायमै राख्नुभएको छ भने एमालेका उम्मेदवार केशवराज पाण्डेको एक हजार ४३ मत र उम्मेदवारी निष्क्रिय बनाए पनि कांग्रेसका गीता अमात्यले चार सय २९ मत प्राप्त भएको छ । जारी रहेको मतगणना निरन्तर अघि बढाइने सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।