संसारकै ठूलो मुस्लिम देशको नोटमा गणेशको तस्वीर, कसरी ?

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई साताअघि भारतीय जनता पार्टी र कांग्रेसलाई लगभग छक्क पार्दै भारतीय मुद्रामा हिन्दु देवी-देवताहरू गणेश-लक्ष्मीको तस्वीर राख्न अपिल गरे ।

संसारको सबैभन्दा ठूलो मुस्लिम देश इन्डोनेसियाले समेत हिन्दु देवताको तस्वीर आफ्नो मुद्रामा राखेको तर्क केजरीवालको थियो । आम आदमी पार्टीका प्रमुख केजरीवालले इन्डोनेसियाको कुल जनसंख्यामध्ये २ प्रतिशत मात्रै हिन्दु हुँदा पनि मुद्रामा गणेशको तस्वीर राखेकाे बताएका थिए । इन्डोनेसियामा ८५ प्रतिशत जनता मुस्लिम छन् ।

उनले यो विषय उठाएपछि टीभी च्यानलदेखि सोसल मिडिया र इन्टरनेटसम्म यसको चर्चा भयो । गुगल ट्रेन्डअनुसार केजरीवालको प्रेस कन्फरेन्सपछि ‘इन्डोनेसियाको मुद्रा’ किवर्डको खोजीमा जबर्जस्त उछाल देखिएको थियाे ।

इन्टरनेट प्रयोगकर्ताले जान्न चाहेका थिए, आखिर इन्डोनेसियाको मुद्रामा हिन्दु देवता गणेशको तस्वीर किन छ ?

इन्डोनेसियाले यो नोट सन् १९९८ मा एक खास उद्देश्यले जारी गरेको थियो । अहिले यो नोट चल्तीमा छैन । सोसल मिडियामा भाइरल भएको नोटको तस्वीरलाई ध्यानपूर्वक हेरियो भने यसमा एकातिर हिन्दु देवता गणेश र एक व्यक्तिको तस्वीर देख्न सकिन्छ । अर्कातिर पढ्दै गरेका केही बच्चाको तस्वीर छ ।

बीबीसी इन्डोनेसिया सेवाका वरिष्ठ पत्रकार अस्तुदेस्त्रा अन्जेगरास्त्रीका अनुसार इन्डोनेसियामा गणेशको तस्वीर हुनुले त्यहाँकाे सांस्कृतिक विविधतालाई दर्शाउँछ । उनी भन्छिन्, ‘सन् १९९८ मा जारी गरिएको यो नोटको थिम शिक्षा थियो । गणेशलाई इन्डोनेसियामा कला, वृद्धि र शिक्षाको भगवान् मानिन्छ । यहाँका केही शैक्षिक संस्थानहरूमा पनि गणेशको तस्वीर प्रयोग गरिन्छ ।’

यस नोटमा इन्डोनेसियाको राष्ट्रिय नायक ‘की हजार देवन्तरा’को तस्वीर पनि छ । उनले त्यो बेला इन्डोनेसियाली जनताकाे शिक्षाका लागि संघर्ष गरेका थिए । त्यो बेला इन्डोनेसिया डेनमार्कको उपनिवेश थियो । त्यस क्रममा केवल समृद्ध एवं डच समुदायका बच्चाले मात्रै स्कुल जान पाउँथे ।

इन्डोनेसियामा अहिले पनि करेन्सी नोट सर्कुलेसनमा छ, जसमा इन्डोनेसियाली द्वीप बालीस्थित एक हिन्दु मन्दिरको तस्वीर छ । अस्तुदेस्त्रा यसको पुष्टि गर्दै भन्छिन्, ‘पचास हजार रुपैयाँको नोटमा बालीको मन्दिरको तस्वीर छ । बालीमा हिन्दु समुदाय बहुसंख्यक छन् ।’

तर, यसो भन्न पनि मिल्दैन कि नोटहरूमा केवल हिन्दु धर्मको प्रतीक छ । किनकि अन्य नोटमा अलग-अलग धर्म र समुदायका प्रतीकहरूलाई पनि ठाउँ दिइएको छ ।

इन्डोनेसियामा गणेश यति लोकप्रिय किन ?

पूरै इन्डोनेसियामा हिन्दु धर्म मान्नेकाे संख्या केवल २ प्रतिशत छ । तर, बाली द्वीपको ९० प्रतिशत जनसंख्या हिन्दु हो । हिन्दु धर्मको विस्तार भने पूरै इन्डोनेसियामा छ ।

एक रिपोर्टअनुसार सन् १९६० र १९७० को दशकमा जावा द्वीपमा हजारौँ मानिसले हिन्दु धर्म मान्थे । इन्डोनेसियाको समाज र संस्कृतिमा नजर लगाउने हो भने केही क्षेत्रमा इन्डोनेसियाको हिन्दु इतिहासको झलक देखिन्छ । इन्डोनेसियाको इतिहासमा कैयौँ हिन्दु राजवंशहरूले शासन गरेका थिए ।

सातौँदेखि १६औँ शताब्दीका बीच इन्डोनेसियाको धेरैजसो क्षेत्रमा हिन्दु-बौद्ध राजवंशको शासन थियो । यसमा मजापहित साम्राज्य र श्री विजय साम्राज्य सबैभन्दा ठूला थिए । यिनीहरूकै अवधिमा इन्डोनेसियामा हिन्दु धर्म फलेफुलेको थियो ।

यस साम्राज्यमा पनि हिन्दु, बौद्ध, एनिमिज्मसहित केही धर्म फलेफुले । तर, धार्मिक भाषा संस्कृत नै रह्यो । यसअघि श्री विजय साम्राज्यको अवधि सातौँदेखि १२औँ सदीसम्म रह्यो, जसको मुख्य भाषा संस्कृत र ओल्ड मलाय थियो ।

वर्तमानमा पनि इन्डोनेसियाको इतिहासमा लोककथाहरू र प्रतीकको असर देख्न सकिन्छ । इन्डोनेसियाकाे राष्ट्रिय प्रतीक गरुड हो, जसको सिधा सम्बन्ध हिन्दु पौराणिक ग्रन्थहरूसँग छ । रामचरित मानसका अनुसार गरुड पन्छीले सीतालाई श्रीलंकाबाट फर्काउन रामलाई सघाएको थियो ।

यसका साथै इन्डोनेसियामा सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयमध्ये एक बान्दुङ्ग इन्स्टिच्युट अफ टोक्नोलोजीमा पनि गणेशको तस्वीरलाई लोगोको रूपमा प्रयोग गरिएको छ ।

इन्डोनेसियाको एयरलाइन्सको नाम पनि गरुड एयरलाइन्स छ, जसको लोगोमा पौराणिक पन्छी गरुडकै तस्वीर प्रयोग गरिएको छ ।

यसका साथै इन्डोनेसियाकाे एक ठाउँमा सन् १९६१ यता लगातार रामायणको मञ्चन जारी छ । रामायणसँग जोडिएको भूमिका निभाउन हिन्दुसँग अर्को धर्मका मानिस पनि सामेल हुने गर्छन् । यसका साथै इन्डोनेसियामा हिन्दु नामहरू राख्ने चलन पनि लोकप्रिय छ । (बीबीसी हिन्दी)