जागिरका लागि भारतबाट क्यानडा गए, दुई दिनमा यति नराम्रो होला भन्ने सोचेका थिएनन् !

काठमाडौं । हालै मेटा (फेसबुक) कम्पनीमा धेरैले जागिर गुमाए । ती मध्ये एक भारतीयले आफ्नो कथा सामाजिक सञ्जालमा साझा गरेका छन् ।

उनी मेटामा काम पाएर क्यानडा गएका थिए । कार्यालयमा पनि भर्ना भैसकेका थिए । तर काम सुरु भएको दुई दिनमै जागिर गुमाउनुपर्यो ।

अहिले उनी नयाँ कामको खोजीमा छन् । हिमान्शु वी आईआईटी भारत खड्गपुरबाट सफ्टवेयर इन्जिनियर उत्तीर्ण भएका हुन् । उनले मेटामा काम सुरु गर्नु अघि गीटहब, एडोब, फिलिपकार्डजस्ता प्रसिद्ध कम्पनीहरूमा पनि काम गरिसकेका छन् ।

लिन्क्डइनमा पूरा कहानी वर्णन गर्दै, हिमांशुले लेखेका छन्, ‘म मेटामा काम गर्न क्यानाडा गएँ, तर मेरो यात्रा दुई दिनपछि समाप्त भयो । ठुलो संख्यामा भएको कटौतीलेको असर ममाथि पनि पर्यो ।

म सबैको पीडा महसुस गर्छु, जो कठिन समयबाट गुज्रिरहेका छन् । साँच्र्च भनौँ भने मलाई थाहा छैन अब के हुन्छ ।’ यससँगै हिमान्शुले लिन्क्डइन प्रयोगकर्ताहरूलाई क्यानडा वा भारतमा सफ्टवेयर इन्जिनियरको स्थितिबारे जानकारी गराउन अनुरोध गरेका छन् ।

उनको यो पोस्टमा धेरैले सहानुभूति प्रकट गर्दै मेटाविरुद्ध आक्रोश पोखेका छन् । त्यहाँ केही प्रयोगकर्ताहरू पनि छन्, जसले सफ्टवेयर इन्जिनियरको जागिरको अवसरसँग सम्बन्धित लिङ्कहरू साझा गरेका छन् ।

एक प्रयोगकर्ताले कमेन्टमा लेखेका छन्, ‘मलाई थाहा छैन यो कसरी भयो ? के कम्पनीलाई थाहा थिएन कि अर्को महादेशबाट कामका लागि ल्याइएका व्यक्तिलाई दुई दिन पछि हटाइन्छ !’ अर्को व्यक्तिले लेखेका छन्, ‘म तिम्रो पीडा बुझ्न सक्छु, म आफैं यो अवस्थामा छु ।

सकारात्मक रहनु आवश्यक छ, कसैले हामीलाई मद्दत गर्नेछ, शुभकामना !’ हालै फेसबुकको मूल कम्पनी मेटाले ११ हजार कर्मचारीलाई निकाल्ने निर्णय गरेको थियो ।

मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कम्पनीको राजस्वमा कमी आएको भन्दै यो निर्णय लिएको बताएका थिए । जुकरबर्गले माफी माग्दै कर्मचारी निकाल्ने निर्णयलाई निकै कठिन भनेका छन् ।