निर्वाचनमा उठेका यी युवा अनुहारको शैक्षिक योग्यता कति ? रेखादेखि ज्ञानेन्द्रसम्म

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तर्फको निर्वाचनमा यसपटक धेरै नयाँ अनुहार उम्मेदवार बनेका छन् ।

धेरै स्वतन्त्र त केही पुराना दलबाट उम्मेदवार बनेका हुन् । ती उम्मेदवारहरुको फरकफरक शैक्षिक योग्यता रहेको छ । सागर ढकाल प्रतिनिधिसभा सदस्यका लागि डडेल्धुराबाट चुनावी मैदानमा छन् ।

उनले वर्तमान प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवालाई चुनौती दिँदै उनकै क्षेत्र डडेल्धुराबाट चुनाव जित्ने दाबी गरिरहेका छन् । सांसद हुँदै नेपालको मात्र नभए विश्वको कान्छो प्रधानमन्त्री बन्ने तयारी उनको छ ।

गुल्मीमा जन्मिएका ढकालले ‘अक्सफोर्ड विश्वविद्यालय’ बाट छात्रवृद्धिमा ‘नीति र व्यवस्थापन’ मा स्नातकोत्तर गरेका छन् । उनले पुलचोक क्याम्पसदेखि छात्रवृद्धिमै ’मेकानिकल इन्जिनियरिङ’ पनि गरेका छन् ।

अभिनेत्री रेखा थापा पनि चुनावी मैदानमा छिन् । मोरङमा जन्मिएकी थापा राजनीतिमा लागेको केही वर्ष वित्यो । लामो समयको फिल्मि यात्रापछि उनी राजनीतिमा पनि सक्रिय छिन् । उनले आगामी मंसिर ४ को चुनावमा मोरङ–३ बाट उम्मेदवारी दिएकी छन् । उनको पढाइको कुरा गर्दा एसएलसी (१० कक्षा) मात्रै रहेको छ ।

भक्तपुरमा जन्मिएका पूर्व सञ्चारकर्मी रवि लामिछानेले चितवन–२ बाट प्रतिनिभिसभा सदस्यका उम्मेदवार हुन् । पत्रकारीता गर्ने क्रममा लगातार ६५ घण्टा अन्तर्वार्ता लिएका कारण ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल लामिछानेको शैक्षिक योग्यता पत्रकारिता विषयमा स्नातकोत्तर हो ।

पहिलो कमेडी च्याम्पियन ‘हिमेश पन्त’ पनि चुनावको तयारी गरिरहेका छन् । ‘युवा जागौँ आफनो देश आफै बनाउँ’ भन्ने नाराका साथ आउँदो मंसिर ४ गते प्रतिनिभिसभाका सदस्यका लागि उनी धादिङ–१ बाट उम्मेदवार छन् । उनले ‘रसायन शास्त्र’ मा त्रिचन्द्र कलेजबाट स्नातकोत्तर गरेका छन् ।

भ्रष्टाचारविरुद्ध चर्को आवाज उठाउने ‘ज्ञानेन्द्र शाही’ आफनो गेहजिल्ला जुम्लादेखि प्रतिनिभिसभा सदस्यका लागि उम्मेदवार छन् । उनको शैक्षिक योग्यताको कुरा गर्दा चार्टर एकाउन्टेनसी (सिए) रहेको छ । उनले भारतमा सिए पढेको तर सफल हुन नसकेको केही रिर्पोटहरुमा दावा गरिएको छ ।

कोरोना महामारीको बेला चामल बाँडेर चर्चामा आएका हेमराज थापा पनि चुनावी मैदानमा छन् । प्रतिनिभिसभाका सदस्यका लागि उम्मेदवारी दिएका थापा भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका छन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका थापा काठमाडौं–५ बाट प्रतिनिभिसभाका उम्मेदवार छन् ।