राष्ट्रपतिको पक्षमा उभिए राजा ज्ञानेन्द्र, नागरिकता विधेयक रोक्ने निर्णयको स्वागत !

काठमाडौँ – दसैंको शुभकामना दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहले समसामयिक राजनीतिकबारे आफ्ना धारणा पनि सार्वजनिक गरेका छन्। उनले नेपालको विद्यमान संविधान र व्यवस्थामाथि नै प्रश्न उठाउँदै मौलिकता, राष्ट्रियता, नागरिकता, परराष्ट्र नीति, भागबन्डा केन्द्रित राजनीति र भ्रष्टाचारको विषयमा आफ्ना धारणा सार्वजनिक गरेका हुन्।

शुक्रबार आफ्ना सहयोगी फणिराज पाठकमार्फत सार्वजनिक गरिएको भिडिओ सन्देशमा नेपाली जनताले अभिभावकीय भूमिका खोजिरहेको दाबीसमेत पूर्वराजा शाहले गरेका छन्।

शुभकामना दिनेक्रममा शाहले नागरिकता विधेयक रोक्ने राष्ट्रपतिको कदमको घुमाउरो पारामा समर्थन पनि गरेका छन्। उनले विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनाएको बताएका छन्।

केहि समय अगाडी राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण अस्विकार गरेकी थिइन्। संविधानमा दुवै सदनबाट पारित भएर आएको विधेयकलाई प्रमाणीकरण गर्नै पर्ने बाध्यता रहेपनि राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्विकार गरेकी हुन्। त्यसैतर्फ इंकित गर्दै उनले संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने भनेर आफ्नो संदेशमा उल्लेख गरेका छन्।

‘विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ। पहिले पनि हामीले भनिसकेका छौं- हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन। राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यता र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न नवदुर्गा भवानीले प्रेरणा प्रदान गरून्,’ उनले भनेका छन्।

उनले भ्रष्टाचारले समाज र व्यवस्थालाई थप भ्रष्ट बनाएको र सर्वसाधारणका दैनिक जीवन सकसपूर्ण बन्दै गइरहेको पनि बताएका छन्। उनले देशभित्र र बाहिर रहेका नेपालीलाई दसैंको शुभकामना दिँदै अहिलेको समय देशभक्त नेपालीका लागि सजिलोसँग वितिरहेको जस्तो नलागेको पनि बताए। दलहरू आस्था, सिद्धान्त र जनविश्वासका दृष्टिले कति निष्ठावान् र जनउत्तरदायी रहने भन्ने आजकल जल्दोबल्दो प्रश्न बनेको पनि उनको भनाइ थियो।

‘पदलोभ, सत्तास्वार्थ र भागबन्डा गरेर आफ्नै सुविधा भोगका लागि राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ?,’ शाहले प्रश्न गरे, ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका सबै अंगभित्र उत्पन्न विवाद विग्रह र विकृति आजको स्थितिले सर्वत्र प्रश्न उठेको छ।’

उनले यस्तो अवस्थाले जनतामा उत्साह नभएको पनि बताए। उनले देशका प्रति बफादारी र जनताकाप्रति उत्तरदायी भएर काम गर्ने विधि, व्यवस्था, संगठन र प्रतिनिधित्वको सही पात्र देशले खोजिरहेको पनि बताए। उनले पुर्खाले आर्जेको यो राष्ट्रलाई असफलतातिर धकेल्न हुन्न भन्ने आमभावना रहेको पनि बताए।

‘केही संरचना बदलेर, केही नामन्तर गरेर सुन्दर नौलो नेपाल भइहाल्दो रहेनछ। त्यसैले बलियो मियो आवद्ध भएर बलियो र दरिलो नेपाल बनाउन दिव्यचेतना आउनु आवश्यक छ,’ उनले भने।

उनले युवायुवती वैदेशिक रोजगारीमा जाने क्रम नरोकिएको पनि बताए। साथै उनले नागरिकता विधेयकप्रति पनि विरोधको संकेत गर्दै भनेका छन्, ‘बाहिरियाहरूलाई भित्र्याउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको छ।’

साथै उनले परराष्ट्र नीति असन्तुलन भइदिँदा राष्ट्रहित र सुरक्षा संकटग्रस्त बन्दै गइरहेको दाबी पनि गरेका छन्। उनले मौलिकता, धार्मिक र सांस्कृतिक मान्यता विस्थापित गर्ने क्रममा तीव्रता देखिएको पनि बताएका छन्।