खुल्यो म्यादी प्रहरीमा भर्ना, कहिले देखि दिन पाउँछन् आवेदन ?

मंसिर ४ गते हुने चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउने भएको हो ।

गृह मन्त्रालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोट गर्नेबारे मापदण्ड स्वीकृत गरिएको छ । स्वीकृत कार्यविधि अनुसार प्रहरी प्रधान कार्यालयले भदौ २६ मा पत्रिकामा सूचना प्रकाशन गर्नेछ ।

भदौ ३० देखि असोज ६ सम्म आवेदन दिन सकिने गरि कार्यविधि स्वीकृत भएको डीआईजी राईले जानकारी दिए ।

कार्यविधि अनुसार असोज ९ देखि १४ सम्म छनोट प्रक्रिया पूरा गरिसक्नुपर्नेछ । म्यादी प्रहरीको नतिजा असोज २५ प्रकाशन गरिने छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई पहिलो प्राथमिकता दिनेगरी कार्यबिधि पारित गरिएको छ । गत निर्वाचनमा खटिँदा रेकर्ड राम्रो भएकाहरुले तालिम र परीक्षामा पनि सहुलियत पाउँछन् ।

अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न गृह मन्त्रालयलाई सहमति दिएको छ । म्यादीको कार्यवधी ४० दिनको हुनेछ ।

चुनावमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार घेराको सुरक्षा व्यवस्था रहन्छ । म्यादी प्रहरीले प्रहरीको प्रत्यक्ष मातहतमा रहेर काम गर्छ ।

प्रहरीले स्थानीय तहको निर्वाचनमा एउटा निर्वाचन केन्द्रमा ३ जना प्रहरी र अरु म्यादी प्रहरी खटाएको थियो । यस्तै, सशस्त्र प्रहरी बलले पनि आगामी चुनावमा ३२ हजार सशस्त्र प्रहरी र कर्मचारी खटाउने बताएको छ ।

गृहमन्त्रालयले स्थानीय तहको निर्वाचनमा खटिएका भन्दा धेरै सुरक्षाकर्मी खटाउने योजना रहेको बताएको छ ।

के- के चाहिन्छ योग्यता ?
मापदण्ड अनुसार म्यादी प्रहरी हुन १८ वर्ष पूरा गरी ५४ वर्ष ननाघेको हुनुपर्नेछ । साधारण लेखपढ गर्न जान्ने र कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार नठहरिएको र शारीरिक र मानसिक रुपले तन्दुरुस्त रहेको हुनुपर्ने पनि भनिएको छ । यसरी नियुक्त भएका म्यादी प्रहरीले जनपथ प्रहरीसँग मिलेर काम गर्नुपर्ने छ ।

काम छाडेर वा अरुलाई जिम्मा लगाएर कतै जान वा भाग्न पनि रोक लगाइएको छ । बीचमा काम छाडेर हिँडे वा जिम्मेवारी पूरा नगरे सुविधा रोक्का हुने मापदण्डमा उल्लेख छ । कुनै म्यादी प्रहरीले जानाजान सरकारी सम्पत्तिको हानी नोक्सानी गरे उसैबाट असूल गरिने पनि उल्लेख गरिएको छ ।