नवलपुर १ बाट प्रचण्डको नाम सिफारिस

नवलपुर । माओवादी केन्द्र नवलपुरको देवचुलीमा आइतबार बसेको जिल्ला समन्वय समितिको बैठकले संघ र प्रदेशका प्रत्यक्ष र समानुपातिक उम्मेदवार गरी ४४ जनाको नाम सिफारिस गरेको छ।

जिल्लामा भएको दुईवटा संघ र चारवटा प्रदेशको क्षेत्रमा पाँच–पाँचजनाको नाम माग गरेको थियो। त्यसैअनुसार प्रत्यक्षमा मात्रै ३० जनाको नाम सिफारिस भएको छ।

नवलपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न पार्टी अध्यक्ष प्रचण्डलाई अनुरोध गर्ने निर्णय भएको माओवादी जिल्ला समन्वय समितिका संयोजक तथा केन्द्रीय सदस्य धनप्रसाद सापकोटाले बताए। नवलपुरको क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा प्रचण्डसहित पाँचजनालाई उम्मेदवार सिफारिस गरिएको छ। जसमा अध्यक्ष प्रचण्ड, ठाकुर चापागाईं, इन्द्र भुसाल, षडानन्द सापकोटा र पार्वती आचार्य रहेका छन्।

यसैगरी, नवलपुर क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’को प्रत्यक्ष उम्मेदवारमा धनप्रसाद सापकोटा, मित्रशरण शर्मा, सूर्य न्यौपाने, बलराम चालिसे र अम्बिका सापकोटाको नाम सिफारिस भएको छ। प्रदेश ‘ख’मा लोकप्रसाद भुर्तेल (भीषण), पूर्णकला भुसाल (प्रतिमा), हुकुम सुवेदी, प्रेमा खनाल र दुर्गा भुसाललाई सिफारिस गरिएको सापकोटाले जानकारी दिए।

नवलपुर २ को प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारमा माओवादी केन्द्रले पोलिटब्युरो सदस्यसमेत रहेका किशन शर्मा (बालकृष्ण गैरे), डासीराम बस्याल (माइकल), प्रेम बस्नेत, सरला खनाल र दुर्गा रसाइलीलाई सिफारिस गरेको छ।

२ को प्रदेश सभामा (क)मा प्रत्यक्ष उम्मेदवारमा चेतनाथ पोख्रेल, चन्द्रबहादुर थापा (समर), रामराज पण्डित, सौगमकुमार श्रीपाली (सोम) र हेमकुमारी सुनारलाई सिफारिस गरेको छ। यसैगरी २ को प्रदेश सभा (ख)मा प्रत्यक्ष उम्मेदवारमा ताराप्रसाद भुसाल (गगन), कृष्णप्रसाद पाण्डे, हरि पाण्डे, खुमकान्त अधिकारी (अनन्त) र रुकमाया पुनमगरलाई सिफारिस गरेको छ।

समानुपातिक उम्मेदवारमा बालकृष्ण रानाभाट, कृष्णप्रसाद पराजुली, सुष्मा खनाल, कृष्णप्रसाद भट्टराई, पूर्णा थापामगर, धर्म केसी, नेत्र सुनार, टीकाराम घर्ती, टंक पुलामी, दमयन्ती रुचाल, ईश्वरी महतो, देवी अधिकारी (थापा), लक्ष्मी खाण र रमिला भुजेललाई सिफारिस गरिएको अध्यक्ष सापकोटाले जनाएका छन्। कसलाई कहाँ सिफरिस गरिएको भन्ने छुट्याइएको छैन।