भारतलाई १९ रुपैयाँ १९ पैसा प्रतियुनिटमा बिजुली बेचिरहेका छौँ : कुलमान

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँग विद्युतको कारोबार गर्दा नेपाललाई ठूलो फाइदा बहेको बताएका छन् । उनले उर्जा आदानप्रदानबाट भारतले भन्दा बढी नेपालले फाइदा लिइरहेको समेत बताएका छन् ।

नेपाल टेलिभिजनबाट प्रसारण भएको पोलिसी डाइलग कार्यक्रममा घिसिङले भारतलाई विद्युत बेचेको मूल्यबारे समेत खुलासा गरेका छन् । भारतलाई सस्तोमा बिद्युत बेचेको हल्ला चलिरहेका बेला उनले यस्तो खुलासा गरेका हुन् ।

घिसिङका अनुसार नेपालले भारतलाई प्रतियुनिट १९ रुपैयाँ १९ पैसामा बेचिरहेको बताएका छन् । उनले भने, ‘ भारतलाई विद्युत बेच्न थालेको डेढ महिना भयो, रातिको समयमा नेपाललाई करिव १२ रुपैयाँ भारु आउने गरेको छ । दिउसो भने अलिक कम हुन्छ । हामीले ४ रुपैयाँमा खरिद गरेको विद्युत १९ रुपैयाँ सम्ममा बेच्दा राम्रै नाफा भएको छ ।’

उनका अनुसार दिउसको समयमा भने केहि कम मूल्य आउने गरेको छ । ‘एभरेजमा ५ देखि ६ रुपैयाँ दिउसोमा आउने गर्छ, त्यो समय अनुसार फरक फरक हुन्छ ।’ समग्रमा यो राम्रै कारोबार भएको उनले बताए ।उनले हाल नेपालको बिजुली उत्पादन क्षमता २२ सय मेगावाट पुगेको भन्दै पिक आवरमा १८ सय मेगावाट खपत भैरहेको समेत जनाकारी दिए ।

पूर्वमन्त्री घर्तीमगरको ‘पुर्खाको चिनो’ संग्रह सार्वजनिक
काठमाडौँ, १९ साउन (रासस) ःपूर्वमन्त्री बालाराम घर्तीमगरले सङ्कलन गर्नुभएको ऐतिहासिक दस्तावेजहरुको संग्रह ‘पुर्खाको चिनो’ कृति सार्वजनिक गरिएको छ ।

लेखक तथा अन्वेषक हरिप्रसाद सोढारीले सम्पादन गर्नुभएको उक्त पुस्तकमा १९५७ सालदेखीका पुराना पत्र, हस्तलिखित पुस्तक र केही अन्य दस्तावेज समेटिएका छन् । अनुसन्धानकर्ता, कानुनविद्, राष्ट्रचिन्तक र इतिहासका विद्यार्थीलाई उक्त कृति एकदमै महत्वपूर्ण छ । पाँच खण्डमा विभाजित उक्त पुस्तकमा प्यूठान टुक्रिएर रोल्पा नहुँदैका मालअड्डाका रसिद र तमसुक, मुखिया र जिम्मवालको भूमिका, बाटो र गौडा पार गर्न आवश्यक पर्ने कागज, खुङ्ग्रिका राजासम्बद्ध पत्र, विद्यालयदेखि गोल पोल्न चाहिने पत्रको नमूनासमेत समेटिएको छ ।

हरेक पत्रको अन्तिममा लेखिएको मिति र त्यसको प्रकारबारे सूचना दिइएको छ । दोस्रो खण्डमा अदालतसम्बद्ध पत्रहरू रहेका छन् । जसले त्यतिबेलाको न्याय एवं कानुनका बहुआयामिक पक्षलाई झल्काउँछ । नेपालीकागजका यी पत्रहरूको शीर्षभागमा प्यूठान अदालत लेखिएको छाप देखिन्छ । कानुन, समाजशास्त्र एवं इतिहासका विद्यार्थीहरूलाई यो खण्ड महत्वपूर्ण देखिन्छ ।

तेस्रो खण्डमा इस्तिहारहरुलाई समावेश गरिएको छ । यसबाट त्यतिबेलाको आदेश, कार्यपद्धतिका बारेमा जानकारी प्राप्त हुने छ । यसको शीर्षभागमा नेपाली, अंग्रेजी र उर्दूभाषामा लेखिएका गोलाकार छापको चिन्ह छ । चौथो र पाँचौँ खण्डमा पूर्वमन्त्री घर्तीमगरको संग्रहमा रहेका अप्रकाशित ज्योतिष र तन्त्रका ग्रन्थहरू छन् । यी हस्तलिखित ग्रन्थहरूबाट ज्योतिष र तन्त्रले समाजलाई कसरी सुरक्षित र सुसुचित गरेको थियो भन्ने संकेत गर्दछ ।

खगोल र भूगोलमा हाम्रो विज्ञान कति परिपक्व थियो भन्ने सूचना उक्त कृतिले दिन्छ । पूर्वमन्त्री घर्तीमगर विगत ६ दशकदेखि राजनीतिमा सक्रिय रहनुभएको छ । उहाँ हालसम्म ११ पटक मन्त्री बनिसक्नुभएको छ ।