काठमाडौँ
केही थान मन्त्री पदलाई लिएर यतिबेला नेकपा एकीकृत समाजवादीभित्र भाँडभैलो चलेको छ।
एक वर्षअघि मात्रै नेकपा एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादीमा फुटका संकेतहरु देखिन थालेका छन्।
स्थानीय तह निर्वाचनमा कमजोर प्रदर्शनपछि असन्तुष्टि बढेको उक्त पार्टीले यो साता लगातार बैठक राखेको छ।
शनिबार केन्द्रीय कमिटी बैठक बसेको छ। शुक्रबार पोलिटब्युरो र त्यसअघि सचिवालयका बैठक बसेका थिए।
केन्द्रीय कमिटी बैठक सकिनेबित्तिकै केन्द्रीय परिषद् बैठक बस्दैछ। पोलिटब्युरो र केन्द्रीय कमिटीका निर्णय समूहगत छलफलसहित निष्कर्षमा पुग्ने उक्त पार्टीको तयारी छ।
दुई लाइन संघर्ष
एकीकृत समाजवादीभित्र दुई लाइन संघर्ष सुरु भएका छन्। गत २२ जेठमा पार्टीले गरेको गरेको निर्णयअनुसार मन्त्री पद छाडेर निस्कन नमानेका केही मन्त्रीका कारण विवाद छरपस्ट हुन थालेका हुन्।
शनिबार दिउँसो केन्द्रीय कमिटी बैठकस्थलमा उपस्थित नेताहरु पनि आफ्नै नेताको विचलनलाई केन्द्रमा राख्दै चिन्ता जनाइरहेका थिए। बैठकमै मन्त्री छाड्न नसकेर खुमलटारदेखि बालुवाटारसम्म नेताहरु धाउन थालेका टिप्पणी सुनिए।
यो टिप्पणी चलिरहँदा तीनजना मन्त्रीहरु आफूहरुलाई क्याबिनेबाट बिदा नगर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे। माधव नेपालको निर्णयविरुद्ध उभिएका उनीहरुले समानान्तर गतिविधि गरिरहेका छन्।