काठमाडौं, असार ११ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली पार्टी एकता जोगाउन प्रधानमन्त्री पद छाड्न तयार भएको खुलासा गर्नुभएको छ ।
आज काठमाडौंमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता गौतमले ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने र उनैको नेतृत्वमा निर्वाचनमा जाने अफर गरेको खुलासा गर्नुभएको हो ।
गौतमले पार्टी बिभाजनमा प्रचण्ड नै दोषी रहेको किटानी पनि गर्नुभयो । माओवादी केन्द्रका अध्यक्ष दाहालले केपी ओलीलाई लगाएको आरोपहरू फिर्ता लिएको भए सायद पार्टी एकता जोगिने गौतमको निश्कर्ष छ ।
‘दुई अध्यक्षबीच भएको बैठकमा म पनि पुगेको थिएँ । त्यहाँ अध्यक्ष ओलीले म पार्टी एकता जोगाउन आएको छु । यसका लागि जे पनि गर्न तयार छु भन्नुभयो । म एउटा पद छाड्न तयार छु । तर मैले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन तयार छु भन्नुभएको थियो, गौतमले भन्नुभयो, पहिलो विषयमा नेताहरू बीच धेरै छलफल भएन । वहाँहरू दुवै यसका लागि सहमत देखिनुभयो । तर प्रचण्डले आरोपहरू फिर्ता लिन सक्दिनँ भन्नुभयो, त्यही कुरा नै बिभाजनको बिषय बन्यो ।’
गल्ती स्वीकार्दै मागे माफी
गौतमले पार्टी बिभाजनमा आफू दोषी रहेको भन्दै आत्मालोचना गर्नुभयो । आफ्नै नेतृत्वमा नेकपाका तात्कालिन अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध आरोपपत्र तयार पार्नुभएका गौतमले आज आफूले प्रयास गरेको भए पार्टी विभाजन नहुने भन्दै आत्मालोचना गर्नुभएको हो ।
नेकपा एकता राष्ट्रिय अभियानको दोस्रो राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै नेकपा विभाजन भएकोमा गौतमले पश्चाताप गर्नुभयो । उहाँले आफूलाई धेरैजसोले वामदेवका कारण पार्टी विभाजन भएको भनेर आरोप लगाउने गरेको गुनासो पनि गर्नुभयो ।
‘धेरैजसोले वामदेवकै कारण विभाजित भयो भन्ने आरोप लाग्यो, मैले पनि गल्ती गरेकै हो भनेर आजको प्रस्तावमा पनि लेखेको छु । वामदेव लागेको भए पार्टी जोगाउन सकिन्थ्यो भन्नुभयो । यो साँचो हो, म लागेको भए पार्टी विभाजन हुँदैनथ्यो । म आत्मालोचित भएको छु,’ सार्वजनिक रुपमा आत्मालोचना गर्दै गौतमले भन्नुभयो ।
तत्कालीन नेकपाको सचिवालय सदस्यहरुले चाहेको खण्डमा त्यतिबेला नेकपा विभाजित नहुने उहाँको भनाई छ । ‘यो काम सचिवालयभित्रबाट पार्टी विभाजनअघि नै गर्नुपर्थ्यो, सबैले सक्नुहुन्थ्यो तर गर्नु भएन । मैले पनि गर्न सकिनँ । मैले पार्टी विभाजन हुन्छ भने कल्पनै गरिनँ,’ गौतमले भन्नुभयो । तत्कालीन प्रधानमन्त्री केपी ओलीविरुद्ध भएको अविश्वास प्रस्तावकै कारण पार्टी विभाजित भएको पनि गौतमले बताउनु भयो ।
‘हामीभित्र मतभिन्नताहरु हुन सक्छन, ती मतभिन्नताहरु आवश्यक छलफल नगरी, समाधानको प्रयत्न नभई एकाएक एउटा अध्यक्ष प्रधानमन्त्रीको विरुद्धमा अविश्वास प्रस्ताव ल्याइयो,’ गौतमले भन्नुभयो, ‘त्यसको जवाफमा संसद नै विघटन गरेर निर्वाचनमा जान्छु भन्ने काम भयो ।