आफ्नै अहंकारले यसरी पतन भए माधव नेपाल

वास्तवमा भन्ने हो भने त्यो दिन एमाले माथि प्रचण्डका आँखा लागेका थिए । एमालेको त्यो महाशक्ति देखेर प्रचण्ड जस्तो आफ्नो लागि अतिरिक्त चलाकी गर्नमा माहिर खेलाडीलाई आफ्नो शान सौकत ‘चार दिनको चाँदनी फेरि अँधेरी रात’ हुने भय पैदा भयो ।

समयले आज प्रष्ट पनि पारिसकेको छ कि पाण्डवहरुको उत्थानमा आफ्नो भविष्य नदेख्ने दुर्योधनमाझै एमालेको प्रत्येक जयमा आफ्नो क्षय देख्नमै प्रचण्डको जुनी बितेको छ । एमालेको पुनरोदय भएरै छाड्ने संकेत बुटवलमा देखापरेपछि माओवादीले हिसाबकिताव सहित प्रचण्डमान थैबको हत्या गर्यो

दयालबहादुर शाही

रुसका तीँ गद्दार र एमालेका यीँ गद्दार !
वास्तवमा महानिर्वाचनहरु रक्तहीन महाभारत युद्ध हुन् । जुन् एमालेले २०५६ सालको आम निर्वाचन र २०६४ सालको संविधान सभा निर्वाचनमा माधवकुमार नेपाललाई सेनापति मानेर नेपाली कांग्रेससँग प्रतिद्वन्द्विता गर्दै पंगा लियो थियो, आज त्यही एमालेमाथि कृतघ्न बनेर माधव नेपालले कांग्रेसको लागि नूनको सोझो गर्दैछन् । माधवको रोजाईमा अहिले कांग्रेस परेको छ ।

चामल थिएँ, कनिका भएँ, भात खाने थिएँ, लात खाने भएँ भनेझै कुनै बेला कांग्रेसको ओठमुख सुकाउने एमालेका महानायकको भूमिकामा थुपारिएका माधव नेपाल जिउँदै नर्कमा खसेर ‘कांग्रेसको दैलो र दयाको भैलो’ माग्नमा खुम्चिएका छन् ।

स्वाभिमानी र इज्जत भएका सत्पात्रका लागि जोरिपारीको दया र छाँया भन्दा मृत्यु प्यारो हुन्छ । जुन एमालेले उठायो, त्यही एमालेलाई घात गर्ने र भएभरका पराहीहरुसँग मिली एमाले सिध्याउने तहमा गिरेर पनि माधव नेपालको जीवनप्रतिको मोह कायमै छ । माधव नेपालको गद्दारीको यो तह आफै महासचिव रहेको सोभियत संघको कम्युनिष्ट पार्टी प्रतिबन्ध लगाउने र आफै राष्ट्रप्रमुख रहेको तत्कालीन सोभियत संघ विघटन गरी १५ वटा देशमा देश विभाजन गर्ने मिखाइल गोर्बाचोभले गरेको गद्दारीको हाराहारीमा छ ।

बर्लिन पर्खाल ढल्नुमा, युरोपबाट समाजवादी व्यवस्था धरासयी हुनुमा र शीत युद्ध समाप्त हुनुमा गोर्वाचोभको ठूलो भूमिका थियो । उनको आत्मघाती कदमलाई हौसला दिदै सन् १९९० को नोबेल शान्ति पुरस्कार उनैलाई प्रदान गरेर थप गद्दारीका लागि प्रेरित गरिएको थियो, जसरी अहिले एमालेको घरमा आगो झोसेकोमा देउबा र दाहालले माधवलाई धाप मारिरहेका छन्, क्यावात् र स्याबास् भनिरहेका छन् । मानव जातिको समानताको यात्रा र अभ्यासमा अक्टुबर क्रान्ति एक युगान्तकारी घटना थियो ।

त्यो क्रान्तिपछि अविछिन्न ७२ वर्षसम्म लामो गौरवमय इतिहास बोकेको सोभियत संघको पतनका अन्य थुप्रै कारण भए पनि गोर्वाचोभको गद्दारी प्रमुख कारण थियो । कम्युनिष्ट विचारका आलोचकहरु पनि उक्त समाजवादी व्यवस्था धरासयी हुनुमा तानाशाही र केन्द्रीकृत शासन, नारकीय नोकरशाही, नकाम अर्थव्यवस्था, गुणस्तरहीन शिक्षा जस्ता बलिया कारणहरु दर्शाउँदा दर्शाउँदै पनि गोर्बाचोभको भूमिकालाई ती सबै कारणहरु भन्दा बढी र माथि राख्ने गर्दछन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक आर्ची ब्राउन भन्छन्– ‘जुन ढंगले सोभियत संघ विघटन भयो, त्यो पनि एकै रातमा, त्यो सबैको लागि चकित पार्ने घटना थियो । सोभियत संघको पतनका अनेकौं कारणहरु थिए, तर सबैभन्दा महत्वपूर्ण कारण बने गोर्बाचोभ स्वयं ।’

सोभियत संघ एक मिथक जस्तै लाग्ने महाशक्ति राष्ट्र थियो, जसको उदय मार्क्सवादी दर्शनबाट प्ररित रहेर सन् १९१७ को अक्टोबरमा भएको क्रान्तिबाट भएको थियो । सोभियत संघ यस्तो देश थियो, जसले जर्मनीसँग विश्व युद्ध र अमेरिकासँग शीत युद्ध लड्यो । त्यो यस्तो देश थियो, जसले हिटलरलाई परास्त गरेको थियो भने अमेरिकासँग परमाणु होडमा भाग लिएको थियो । अन्तरिक्षमा पहिलो पटक भू–उपग्रह पठाउने देश पनि त्यही थियो । सन् १९५६ मा सोभियत संघले हंगेरीको विद्रोहलाई दमन गरेर आफ्नो औकात देखाएको थियो । त्यसले १९६० मा अमेरिकाको जासुसी जहाज खसालेको थियो र त्यही वर्ष क्युबामा मिसाएल हानेको थियो ।

सोभियत संघले भियतनाम र क्युवाली क्रान्तिमा सहयोग पुगाएको थियो । खेल, नृत्य, सिनेमा, साहित्य, कला र विज्ञानमा सोभियत संघ अग्रणी स्थानमा थियो । उसको महाभूल र महाशक्तिले राख्नुपर्ने मर्यादाको ख्याल गर्ननेर खाएकोको चिप्लेटी सन् १९७९ मा अफगानिस्तानमा फौज पठाउनु थियो । सन् १९८९ लक्ष्यभेदन नगरी रुसी सेना अफगानिस्तानबाट स्वदेश फर्कियो ।

अग्रजका कमजोरी सच्याएर देशको मनोवल उच्च राख्ननेर चुके । अझ उनले नियतवश नै देशको उद्धार गर्न चाहेनन् । करिब करिब युद्ध हारेको सेना र आर्थिक असन्तुलनमाथि गोर्बाचोभको गद्दारी थपिएपछि महाशक्ति राष्ट्रको समेत आन्तरिक जीवन माकुरी माऊको जस्तै अस्तव्यस्त र संकटग्रस्त भयो । भ्लादिमिर लेनिन, जोसेफ स्तालिन, जर्र्जी मेलेन्कोभ, निकिता खुश्चेभ, लियोनिड ब्रझनेभ, युरी आन्द्रोपोभ, कोन्सटंटिन चेरनेंकोभको लामो विरासतका रुपमा रहेको सोभियत संघ अन्ततः गोर्वाचोचको पालामा विघटन भयो ।

उनले २८ वटा महाधिवेशन सम्पन्न गरी सकेको सोभियत संघको कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाए । गोर्बाचोभका कारण २ करोड २४ लाख वर्ग कि. मी.मा फैलिएको सोभियत संघ १५ वटा देशमा विभाजन भयो । क्रमशः (१) रुस (२) जर्जिया (३) युक्रेन (४) माल्दोवा (५) बेलारुस (६) आर्मेनियाँ (७) अजरबैजान (८) कजाकस्थान (९) उज्वेकिस्तान (१०) तुर्कमेनिस्तान (११) किर्गिजस्तान (१२) ताजिकिस्थान (१३) एस्टोनिया (१४) लाटभिया (१५) लिथुवानियाँ अस्तित्वमा आए । अन्तर्राष्ट्रिय सन्धिअनुसार १ करोड ७१ लाख ३० हजार बर्ग कि. मि. क्षेत्रफल रहेको रुसलाई सोभियत संघको उत्तराधिकारी मानियो ।

यसरी आफ्नो देश र पार्टीको माकुरे भु्रण साबित भएका मिखाइल गोर्बाचोभको नाम विभिन्न उपमा र किस्साहरु बनेका छन् । ‘एउटा मान्छे जसले एक महान् साम्राज्य गुमायो भनेर गोर्वाचोभलाई उडाउने गरिन्छ ।

बीसौ शताब्दिका सर्वश्रेष्ठ गद्दार पनि उनैलाई घोषणा गरिएको छ । गद्दारहरुका हकर्तहरुमा कीर्तिमान कायम गर्ने गोर्बाचोभको जन्म २ मार्च १९३१ मा भएको थियो । उनले सन् १९६१ को २२ औं पार्टी महाधिवेशनमा भाग लिए । यसै महाधिवेशनमा खुश्चेभले २० वर्षभित्र सोभियत संघको प्रतिव्यक्ति आम्दानी अमेरिकाको भन्दा बढी बनाउने घोषणा गरेका थिए । गोर्बाचोभ सन् १९६३ मा स्टाभरोपोल क्षत्रिय समितीमा ओगिन्स विभाग प्रमुखमा पदोन्नति भए । उनी सन् १९८५ मा सोभियत संघको कम्युनिष्ट पार्टीको महासचिव चुनिए ।

यस पदमा उनी सन् १९९१ सम्म कायम रहे । सन् १९८८ मा उनी सोभियत संघको राष्ट्रपति भए । १९८९ मा उनी सर्वोच्च सोभियत संघको अध्यक्ष भए । शक्तिमा आउना साथ उनले सोभियत संघ आश्रित पूर्वी युरोपका अन्य समाजवादी देशमा आएको संकटमाथि उदासिनता देखाए । देशभित्र कम्युनिष्ट विचार, दर्शन र व्यवस्था विरोधी किताव माथिको प्रतिबन्ध हटाए । राजबन्दीहरुलाई रिहा गरे । सरकारी नीतिको आलोचना गर्न प्रेसलाई प्रोत्साहित गरे । मजदुरहरुलाई हडताल गर्ने अधिकार दिए ।

नःसंरचना र खुलापनका नाममा आत्मसमर्पणकारी नीति अवलम्वन गरे । अन्ततः कुनै बेला क्युबादेखि भियतनामसम्म हंगेरीदेखि अफगानिस्तानसम्म शक्ति देखाउने सोभियत संघलाई गोर्वाचोभले नाकै मुनी बर्लिन पर्खाल ढल्दा समेत रमिते बनाए ।

यसबाट हौसिएका सोभियत संघभित्रकै ११ वटा राज्यहरुले सन् १९९१ को २१ डिसेम्बरमा ‘स्वतन्त्र गणतन्त्रहरुको मण्डल’ घोषणा गर्दा पनि सोभियत संघले प्रतिक्रिया जनाउन सकेन । सोभियत संधको उत्तराधिकारका रुपमा रुस आयो र रुसी राष्ट्रपति बोरिश यल्तसिनले २५ डिसेम्बरमा सत्ता समाले । यता गोर्वाचोभ सोभियत संधको राष्ट्रपतिको कुर्सीमा रहिरहे ।

बिना देशको राष्ट्रपतिको बेइजती उनले तीन दिन भन्दा बढी खप्न सकेनन् । चार वर्ष अघि शानका साथ क्रेमलिन प्रवेश गरेका गोर्बाचोभ अन्ततः रुजेको बिरालो जसरी लुरुलुरु घर फर्के, जसरी माधव नेपाल बिना दलको वरिष्ठ नेता भएर दशथरिको दैलो चहारिरहेका छन् ।

एमाले पंत्तिले कहिलै पनि मनमोहन अधिकारी र मदन भण्डारीले कांग्रेस वा अन्य कुनै वामपन्थीको दैलो चहारेको देख्नु परेन । अधिकारी र भण्डारीले एमाले पंत्तिलाई सिकाएको शिक्षा जनतामा माझ रहने, जनतामै घुलमिल हुने हो ।

जनताको घरदैलो र जनता जनाद्र्धनको न्यानो काखमा रहनबस्न एमाले पंत्तिलाई उत्प्रेरित गर्ने मदन भण्डारीको जोडबल जनताको राजनीतिमा स्वाभिमान र इज्जत उच्च रहनुपर्छ भन्ने थियो । मदनको सहकर्मी हुँ भनेर आफ्नो विज्ञापन आफै गर्न धक नमान्ने माधव नेपालको अचेल साँझ बिहान लज्जाहीन उठबस र स्वाभिमानहीन आउजाऊ देउबा र दाहालको दैलोमा चलेको छ । देउबा र दाहालले नबोलाउँदा पनि नेपालले नक्कली बुढानीलकण्ठधामहरु दर्जनौं पटक चहारेपछि एमालेलाई भाउन्न भैरहेको छ ।

धार्मिक हिसाबले पनि स्वस्थानीबाट च्युत भएर होली वाइनका प्रमुख प्रायोजक परस्थानी माधवको पछिल्लो उठनबसनबाट एमालेमा ठूलो पहिरो ल्याउने कांग्रेस-माओवादीको अभीष्ठमा धक्का पुगेको छ । त्यसैले रणनीति एकाएक बदलिएको छ ।

नाङ्गिएका माधव नेपालका पछि स्वाभिमानी एमालेजन नलाग्ने र लागेकाले पनि कोर्स करेक्सन गर्ने लहर चलेपछि विपक्षी मोर्चाले भ्रमजालको अर्काे संस्करणको आवश्यकता महशुस गरेको छ । एमाले पत्तिमा व्याप्त माधवप्रतिको घृणा कम गर्न एमाले विरोधी निर्दलीय गठबन्धनले हिसाबकिताब सहित ‘भक्तको कुटीमा प्रभूको पाउकष्ट’को नीति प्रयोग गर्दै दर्जनौं तारिख लगाईको बदलामा माधव निवासमा देउबा र दाहालको पाउकष्टको नाटक मञ्चन गरेको छ ।

रतन्धो लागेका भेडाका अगुवाको पछि लाग्दा बथान नै भिरबाट खसेर सकिन्छ भन्ने चेतना नभएको माधव मण्डलीले आफ्नो कुरुप स्वाभिमानहीन अनुहार लुकाउन कुतर्कको खेती गर्दे भन्दैछ– ‘पहिला देउबा निवास धाउने त ओली हुन् ।’

ओलीको प्रयास आफ्नो नेतृत्वको सरकारमा कांग्रेसलाई ल्याउने थियो । दुलही ल्याउन दुलाहा ससुरालीमा बाजागाजा सहित जानु लाजघिनको विषय होइन बरु शान सौकतको प्रदर्शन हो । ओलीका हरेक पहलकदमीमा स्वाभिमानको सुगन्ध हुन्छ तर देउबा र दाहालको दैलोमा माधवको लज्जाजनक आउजाऊको मक्सत उनीहरुको पुच्छर बन्नु हो र एमालेका विरुद्ध रणनीतिक दास बन्नु हो ।

पार्टीको ह्वीप नमानेर, संविधान, कानुन र दलीय अनुशासन कुल्चिएर, दलीय आचरण र मर्यादा नाघेर अनैतिक, असंवैधानिक, अलोकतान्त्रिक, असंसदीय अभ्यास सहित आफ्नो पार्टीको सरकार ढालेर कांग्रेस पोस्न थालेको यो घटना एमाले संस्कारको विपरीत छ ।

एमाले जस्तो काँध थाप्ने महानायक शक्ति नपाउँदा वीपी र पुष्पलालको जीवन दुःखान्तमै बित्यो । एमाले जस्तो जिँउदो शक्तिको साथ पाउँदा निरसतामा बित्न थालेको गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाको जीवन रसिलो, पोसिलो र रंगिलो बन्यो । अग्रजलाई सम्मानल जनतालाई श्रद्धा, शत्रुलाई दमन र युवापुस्तालाई प्रेरणाको भाषा बोल्नु एमाले संस्कारको चिनारी हो । माधव नेपालको यो शत्रु पूजा एमाले संस्कारको घोर अपमान हो । एमालेधर्मबाट यसरी च्यूत भएकाले माधव नेपाल यो शताब्दिका सबैभन्दा ठूलो गद्दार भएको पुष्टि हुन्छ ।

घेराबन्दीमा एमाले
विश्वमा आक्रामक अवस्थामा रहेका पूँजीवादी प्रजातन्त्रवादीहरु नेपालमा एमालेले जनताको विश्वास जित्दै अघि बढ्दै गरेर चुनावमा पूँजीवादी पार्टीहरुलाई नै उल्टै पराजयको स्वाद चखाएकोमा मदन–मनमोहनको पालादेखि नै बेखुसी थिए र छन् पनि । राजा, कांग्रेस वा माओवादीको घानमा पारेर एमालेलाई समाप्त पार्नकै निम्ति धेरै चलखेलहरु भए । जनयुद्धदेखि प्रतिगमनसम्मका सबै गलत र अलोकतान्त्रिक शक्ति अभ्यासहरु मूलतः एमालेको उदय र संभावनाहरुप्रतिका जलनका उपज थिए ।

२०६५ साल चैत्र १३ गते बुटवलमा माओवादीले प्रचण्डमान थैबको हत्या कुनै भवितब्य वा फौजी गल्तीका कारण भएको थिएन । किनभने त्यसको एक महिना अघि २०६५ साल फागुन ५ गते एमालेको आठौं महाधिवेशनको उद्घाटन सभामा उर्लिएको जनसागर देखेर प्रचण्ड मन जलेको थियो । नेतृत्व तहमा आफूप्रति बफादार पामरहरु भए पनि बुटवलमा ओइरिएको जनताको समुन्द्र र एमाले कार्यकर्ता पंत्तिको उत्साह देखेर प्रचण्डमा बेचैनी, जलन र ईश्र्या पैदा भएको थियो ।

वास्तवमा भन्ने हो भने त्यो दिन एमाले माथि प्रचण्डका आँखा लागेका थिए । एमालेको त्यो महाशक्ति देखेर प्रचण्ड जस्तो आफ्नो लागि अतिरिक्त चलाकी गर्नमा माहिर खेलाडीलाई आफ्नो शान सौकत ‘चार दिनको चाँदनी फेरि अँधेरी रात’ हुने भय पैदा भयो । समयले आज प्रष्ट पनि पारिसकेको छ कि पाण्डवहरुको उत्थानमा आफ्नो भविष्य नदेख्ने दुर्योधनमाझै एमालेको प्रत्येक जयमा आफ्नो क्षय देख्नमै प्रचण्डको जुनी बितेको छ ।

एमालेको पुनरोदय भएरै छाड्ने संकेत बुटवलमा देखापरेपछि माओवादीले हिसाबकिताव सहित प्रचण्डमान थैबको हत्या गर्यो । ताकि देशभर सन्देश जावस् कि एमालेले शक्ति प्रदर्शन गरेको थलोमै चिलले कुखुरा उठाए जस्तै गरी माओवादीले आक्रामक कार्यबाही गर्ने सामथ्र्य राख्छ । घटनाप्रति दुःख व्यक्त गर्नु र क्षमा माग्नु त कता हो कता वाईसीएलको एक कार्यक्रमलाई प्रधानमन्त्रीमा बहाल रहेकै बेला एमालेमाथिको फतवालाई थप हौसला दिदै प्रचण्डको दम्भी र असहिष्णु भाषण आयो– ‘यहाँहरुको बीचमा उभिदै गर्दा मलाई पनि पेस्तोल उठाऊँ उठाऊँ जस्तो भएको छ ।’ पछि यही अभिव्यक्तिलाई पक्रिएर संसद्मा कांग्रेस नेता लक्ष्मण घिमिरेले विरोध जनाएपछि प्रचण्डले संसदमा मनदेखि नभए पनि भनिटोपल्नलाई माफी माग्नुपरेको थियो ।

‘पृथ्वी भन्दा गरौं के छ भार ?
बाबुको काँधमा छोराको काठ ।’
प्रचण्डको प्रेरित उद्दण्डताका कारण पुराना कम्युनिष्ट नेता अम्विकाप्रसाद थैबले यस्तै निर्मम नियति भोग्नु पर्यो । अरुको घरको खुशी र खुशियाली अनाहकमा खोस्ने प्रचण्डले पनि कालान्तरमा बुढेशकालको एक मात्र सहारा गुमाउनु पर्यो । आफुलाई नपर्दासम्म यस्ता कृत्यप्रति पश्चाताप र नियन्त्रणको आवश्यकतावोध प्रचण्डलाई कहिलै भएन । अधिनायकवाद र विस्तारवादले अपूरनीय क्षति भोगेको घटना पनि सेनापति काण्ड नै थियो ।

त्यस यता ओलीले कहिलै पनि पिठ फर्काउनु परेको छैन । सिक्कमको संसदलाई भारतको स्वार्थ अनुसार कठपुतलीझै नचाएको इतिहास नेपालमा प्रयोग गर्ने र प्रतिरोध गर्ने शक्ति बीचको टक्करको परिणाम हो । एमाले–माओवादी एकीकरणमा प्रचण्डको मक्सत र भारतीय रुचि ओलीको कमजोर स्वास्थ्यतिर परिलक्षित रहेको यथेष्ट आधार र प्रमाणहरु जुटिसकेका छन् । सकभर सिंगो देशमाथि, त्यो नभए एमालेमाथि पन्जाबको अंग्रेज परस्त भारदारी सभाको इतिहास दोहोर्याउनको लागि तत्कालि न नेकपाका माथिल्ला संयन्त्रहरु जस्तो कि सचिवालय, स्थायी कमिटी र संसदीय दललाई नियोजित रुपले निरन्तरको षडयन्त्रको प्रयोगभूमि बनाइको थियो ।

एमाले पुनस्र्थापित भएपछि ओलीप्रेरित कार्यकर्ता र युवापुस्ताप्रतिको जलनले देउबा शरणम् गच्छामी र मोदी गच्छामीको भाषा बोल्ने र वामपन्थी कित्ताको भेदरेखा भुल्ने प्रचण्ड, माधवको कृतघ्नताले युद्ध संचालक आफ्नै सेनामाथि गरेको कृतघ्नतालाई माथ गरेको छ । यही चक्रलाई तोड्दै प्रगतिशील, देशभक्त र लोकतन्त्रवादीहरुले सकारात्मक विरासतहरुको रक्षा गर्नु आजको राष्ट्रिय अविभारा र लक्ष्य बनेको छ ।

कम्युनिष्ट पार्टी र शासकीय गुण
लामो समयसम्म नेपाल कम्युनिष्ट पार्टीका प्रायः सबै घटकहरु बिद्रोही र प्रतिपक्षी भूमिकामा रहे । फलतः सत्ताको केन्द्र भाग र राजनीतिको मूलधारमा पुगेर पनि वामपन्थी घटक र वामपन्थी नेतामा शासकीय गुण, सुझबुझ र परिपक्वताको अभाव देखिने गरेको छ । जनताको सेवा गर्न, विश्वास जित्न, आशिर्वाद पाउन, साथ र समर्थन जुटाउनका लागि जनताको मनखुश राख्न कम्युनिष्ट सरकार भगिरथ प्रयत्नका साथ लाग्नुपर्ने बेला पुनः सत्ता प्राप्तीको दाउ हेरिरहेका अस्थिर राजनीतिका भाइरस भूपूप्रधानमन्त्रीहरु एउटा सानो क्लबको मनखुश पार्नमै ठिक्क हुनुपर्ने अवस्था आयो । दुःखीजनको मन बुझाउन खोलिएका दल केही थान दुःखीमनका लागि सम्पूर्णढंगले केन्द्रित हुनुपर्ने स्थिति रहेसम्म लोकतन्त्रले सम्पूर्ण सुवाससहित निखरित हुन पाउने छैन । राष्ट्र एक वृहत परिवार हो, जहाँ सानो परिवारमा बाक्लो दाल खान खोज्ने संकीर्ण सोच काम लाग्दैन । पार्टी र देशलाई लैनो भैँसी ठान्ने र यसका निम्ति जे पनि गर्न सरम नमान्ने प्रचण्ड–माधवका मिल्दा स्वभावले गर्दा राजा, कांग्रेसको असफलता पछि नेपालको वामपन्थी आन्दोलनले नेपालको मियो बन्न पाएको दुर्लभ अवसर सदुपयोग नहुने खतरा बढेको छ ।

अधिनायकवादीहरुले एक पटक सत्ता हत्याएपछि कहिलै सत्ता हस्तान्तरण गर्दैनन् । पूँजीवादी प्रजातन्त्रवादीहरुले कम्तीमा एक कार्यकालसम्म पार्टीमा पार्टी प्रमुखलाई र सरकारमा सरकार प्रमुखलाई निर्धक्कसँग काम गर्न दिने सुझबुझ र त्यही मुताबिकको राजनीतिक संस्कार (Political culture) बिकास गरेका छन् । पार्टीसत्ता र राज्यसत्तालाई आफ्नो हकमा आजीवन एक जना मात्र सर्वेसर्वा हुने अधिनायकवादी बिकल्पमा गैहाल्ने र अर्काको हकमा एक कार्यकाल पालो पर्खन समेत धैर्य नगर्ने प्रचण्ड–माधवको संकीर्णतामा मुखमा बहुदलीय जनवादी राम राम बगलीमा अधिनायकवादी र अवसरवादी छुराको बांगो नियत पढ्न सकिन्छ ।

यस्तै लोभिपापी पात्र र प्रवृत्तिका कारण नेपालको वामपन्थी आन्दोलन झिँगे चित्तका अक्कड नेता उत्पादन गर्ने कारखाना बन्ने खतरा छ । जबकि आवश्यकता चौडा छात्ती र दूरदृष्टिको छ । यो देश अलोकतान्त्रिक व्यवस्था, निरन्तरको वाह्य हस्तक्षेप, भ्रष्टाचार र राजनीतिक अस्थिरताले थला परेको देश हो । देशलाई उठाउन लोकतन्त्र, देशभक्ति, स्वाभिमान र राष्ट्रिय एकता, समानता र सामाजिक न्याय, सुशासन र पारदर्शिता, बिकास र समृद्धि जरुरी छ । राजनीतिक स्थिरतामा मात्र यी सबै कुरा संभव हुन्छन् ।

जागेका जनता र इशारा बुझ्ने युवापुस्ता
राष्ट्रको साह्रो गाह्रोको वास्ता नगरी आफ्नो महत्वाकांक्षाको रोटी सेक्न जे पनि गर्ने प्रवृत्तिलाई युवा पुस्ताले धुलो चटाउँदै आएको सिलसिला पनि छ । २०५४ सालको वामदेव गौतमको फुटवादी हुँकारलाई साम्य पार्नु, राजाको प्रतिगामी कदमको बिरुद्धमा लोटा फुटाल्नेको गाग्री फुटाल्ने नीति लिनु, माओवादी अधिनायकवादको नसबन्दी गरिदिनु र नाकाबन्दी कार्डलाई उल्टै भारतलाई नै चेत बाबाकाशी बनाउन सक्नु यो शताब्दिमा नेपाली जातिले प्राप्त गरेका महानतम् उपलब्धि र विजयश्रीहरु हुन् । युवाहरुको हरेक पुस्ताको नसा नसामा सल्बलाएको राष्ट्रवाद र देशभक्तिको रगतले नेपालमाथिका कुनै पनि षडयन्त्रहरु खारेज गर्र्ने सामथ्र्य राख्दछ । हाम्रा पुर्खाले हामीलाई दिएको चेतनाको अखण्डज्योति ‘सत्यमेव जयते’ हो र ‘सिंहमेव जयते’ होइन । जोरीपारीलाई सत्यको विजय हुन्छ र सिंहको विजय हुँदैन भन्ने सबक सिकाउने औकात नेपाली जातिसँग थियो, छ र रहने छ ।

चुनौती माथि हाबी हुने गरी चेतको आपूर्ति गर्न सक्ने जनता जनाद्र्धन भएको देशले मात्र अस्तित्वको परिचय पत्र बारम्बार नवीकरण गर्न सक्छ । कुनै बेला पन्जाव र नेपाल शक्तिमा बराबरी थिए । अझ १८६६ साल असार २४ गते भएको एक सन्धि अनुसार तीन वर्ष लामो काँगडा किल्ला घेराउ अभियानबाट नेपाल पछि हटेर सतलज नदीवारि फर्कनु परेको थियो । यति भएर पनि नेपालले चन्द्रसूर्य ध्वजा फहराइरहेको छ तर पन्जावले अंग्रेजसामु अस्तित्वबाट हात धुनु प¥यो । आजसम्म पनि भारत र पाकिस्तानको तानातानमा परिरहेको छ । नेपालले एशियाकै जेठो राष्ट्रको ख्याति युगदेखि युगसम्म कमाउँदै र बचाउँदै आएको छ ।