काठमाडौं : पूर्व पत्रकार रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गर्दै ७ वटा अवधारणा अघि सारेका छन्। राष्ट्रिय सभागृहबाट राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्दै लामिछानेले आफूले नयाँ अवधारणका साथ दल घोषणा गरेको बताएका हुन्।
१. प्रारम्भिक निर्वाचन
लामिछानेले आफ्नो पार्टीबाट उम्मेद्वार बन्नका लागि आफ्नै पार्टीमा पहिला चुनाव सामना गर्नुपर्ने बताएका छन्। ‘तपाईंलाई आम निर्वाचनमा उठाउने हो भन्ने पार्टीमा चुनाव हुनेछ। तल्लो तहको मत नलिएर कोहि नेता हुन पाउँदैन। कसैले टीका लगाउने छैन। चाकडी गरेको आधारमा हुने छैन्,’लामिछानेले भने।
अहिलेसम्म नेपालका कुनै राजनीतिक दलमा यस्तो अवधारणा नभएकोले आफ्नो पार्टी फरक भएको रविको दाबी छ।
२. युवा सहभागीता ५० प्रतिशत
लामिछानेको पार्टीमा युवा सहभागितालाई प्राथमिकता दिइने छ। रविले आफ्नो पार्टीमा ५० प्रतिशत युवालाई अनिवार्य गरिएको बताएका हुन्। उनले आफ्नो पार्टी युवाहरुको पार्टी हुने समेत बताएका छन्।
३. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री
लामिछानेले घोषणा गरेको पार्टीको अर्को अवधारणा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री रहेको छ। त्यसका लागि पार्टीको साधारण सदस्य र सभापतिमा निर्वाचित भएको हुनुपर्ने लामिछानेले बताए।
‘यदी मैले प्रधानमन्त्री हुन चाहेको हो भने साधारण सदस्य र सभापति हुनसक्ने गरि उठनुपर्ने छ। र उनीहरुले जिताएको मान्छे मात्रै प्रधानमन्त्रीको उम्मेदवार हुने छ,’लामिछानेले भने।
उम्मेदवारले ‘मन्त्रिपरिषद’ मा हुने टिम नै घोषणा गरेर चुनावमा जान सक्ने लामिछानेले बताए।
४. राइट टु रिकल र राइट टु रिजेक्ट
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना पार्टीबाट निर्वाचित भएर गएकाहरुले राम्रो काम नगरेर अस्वीकृत गर्ने र फिर्ता बोलाउने व्यवस्था हुने बताए। ‘फिर्ता मात्रै होइन कठालो समातेर ल्याउन सकिने छ,’उनले भने।
५, डिजिटल डेमोक्रेसीको अभ्यास
लामिछानेको पार्टीले अहिलेको जस्तो चुनाव नहुने बताएको छ। पहिला आफ्नो पार्टीमा र पछि सबै ठाउँमा डिजिटल रुपमा चुनावको अभ्यासका लागि प्रयास गर्ने उनले बताए।
‘महिनौ लगाएर मत्रपत्र ल्याउने र मत हाल्ने व्यवस्था हुने छैन,’लामिछानेको भनाइ छ।
६. परिवारवाद निषेध
राष्ट्रिय स्वतन्त्र पार्टीले परिवारवादलाई निषेध गर्ने घोषणा गरेको छ। परिवारका मान्छेहरु लाभको पदमा नहुने लामिछानेले प्रतिवद्धता व्यक्त गरेका छन्।
‘एउटै परिवारकाले लाभको विषय पाउने छैन,’उनले भने।
७. कार्यकर्ता रहित पार्टी
लामिछानेले घोषणा गरेको पार्टीमा कार्यकर्ता नहुेन भएको छ। तर, पार्टी सदस्य भने रहेन लामिछानेले बताए।
‘कुनै भातृ संगठन हुने छैन। सदस्य र फलोअर्स हुनेछ। चुनावमा भोट हाल्न बाहेक केही गर्नु पर्दैन,’लामिछानेले भने।
यस्तै लामिछानेले व्यापारीबाट चन्दा नलिने घोषणा समेत गरेका छन्। तर, सर्वसाधारणबाट थोरै सहयोग संकलन गरेर पार्टी सचांलन गरिने उनको भनाइ छ।