अरू आउलान् भनेर दाइले मेरा लागि काठमाडौं-३ बुक गरिदिनुभएको हो – रवि लामिछाने

काठमाडौं, असार ६

पत्रकारिता छोडेर राजनीति गर्ने घोषणा गरेका रवि लामिछानेले आगामी संसदीय चुनावमा कहाँको कुन निर्वाचन क्षेत्रबाट उठ्ने टुंगो नभएको बताएका छन्।

रविले भोलि मंगलबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आफ्नो राजनीतिक अभियानबारे घोषणा गर्दैछन्।

रविले उक्त घोषणा गर्नुको अघिल्लो दिन उनका दाइ तथा पूर्वसञ्चारकर्मी हरिशरण लामिछानेले भने स्वतन्त्र उम्मेदवारहरूको अलाइन्स घोषणा गरेका छन्।

सामाजिक सञ्जालमा प्रेस नोट जारी गर्दै हरिशरणले आफू काठमाडौं-३ बाट चुनाव लड्न लागेको बताएका छन्। रवि पनि काठमाडौं-३ मै उठ्ने चर्चा छ।

दाजुभाइ एकै क्षेत्रमा भिड्न लागेको हो रविले दाइले आफ्ना लागि त्यो क्षेत्र बुक गरिदिएको हुन सक्ने बताए।

‘मैले निर्वाचन क्षेत्र छानेको छैन’, रविले हाँस्दै भने, ‘दाइले अरू आउलान् भनेर मेरा लागि बुक गरिदिनु भएको होला।’

रविले दाजु हरिशरण आफ्नो ढंगले चुनावमा तयारीमा लागेको बताए।

‘दाइ आफ्नो ढंगले अघि बढ्नु भएको छ। दाइको अलग व्यक्तित्व छ। अझ उहाँको नगरकोट र काभ्रे क्षेत्रमा प्रभाव पनि छ’, रविले भने, ‘निर्वाचनका लागि नाम दर्ता नहुदाँसम्म अहिले माहौल त हो।’

उनले काठमाडौं -३ मा दाजुभाइमध्ये कसले उम्मेदवारी दिने भन्नेबारे सल्लाह गर्ने बताए।

‘दाइको मेरो दुबैको मतदाता नामावली काठमाडौं क्षेत्र नं ३ मै छ’, उनले भने, ‘निर्वाचनमा उम्मेदवारी दर्ता अघिसम्म त के ठेगान हुन्छ र। तर हामी सल्लाह गर्दैछौँ, गर्छौं।’

रविले पनि सेतोपाटीसँगको कुराकानीमा स्वतन्त्रहरुलाई जोडेर अघि बढ्ने आफ्नो योजना बताएका थिए। रविले आफ्नो छुट्टै पार्टी निर्माण गर्ने संकेत समेत गरेका थिए।

हरिशरण भन्छन्- फिल्मी शैलीले त राजनीति होलाजस्तो लाग्दैन

भाइ रविलाई उछिनेर हरिशरणले एकदिन अगाडि स्वतन्त्रको अलाइन्स घोषणा गरेपछि त्यसको चर्चा पाएको छ।

रवि लामिछानेले पनि राजनीतिमा आउने घोषणा गर्दा आगामी संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकाहरूसँग पनि कुरा गरिरहेको र सबैलाई लिएर अघि बढ्ने बताएका थिए।

हरिशरणले सोमबार ‘स्वतन्त्रहरूको तर्फबाट’ प्रेस नोट जारी गर्दै आफू काठमाडौं-३ बाट, रन्जु दर्शना काठमाडौं-५, पुकार बम काठमाडौं-१ र सुमन सायमी काठमाडौं-८ बाट चुनाव लड्ने घोषणा गरेका छन्।

उनले काठमाडौं बाहिर पनि अलाइन्सका उम्मेदवार उठ्ने बताएका छन्। विश्व साइकल यात्री पुष्कर शाह दोलखाबाट चुनाव उठ्ने उनले दाबी गरेका छन्।