खुमलटारमा अर्थमन्त्री र पूर्वअर्थमन्त्रीको लुकामारी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने र छलफल गर्ने सम्बन्धमा माओवादीका नेताहरुबीच लुकामारी भएको छ । उहाँहरुले छुट्टाछुट्टै भेट्ने चाहना राखेपछि आज बिहान खुमलटारमा अर्थमन्त्री जनार्दन शर्मा र भूतपूर्व अर्थमन्त्री वर्षमान पुनबीच लुकामारी चलेको हो ।

अध्यक्षलाई भेट्न अर्थमन्त्री शर्मा बिहान ७ बज्नै लाग्दा त्यहाँ पुग्नुभएको थियो । उहाँले करिब एक घण्टा वार्तालाप गर्नुभयो । मन्त्री शर्मा निस्केको १० मीनेटपछि पूर्वअर्थमन्त्री वर्षमान पुग्नुभएको बताइन्छ ।

उहाँले पनि अध्यक्ष दाहालसँग झण्डै ४५ मीनेट कुराकानी गर्नुभएको थियो । कुराकानीपछि उहाँ भर्खरै बाहिरिनुभएको छ ।

प्रधानमन्त्रीविरुद्ध खेद प्रस्ताव पारित गर्न प्रस्ताव

संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नगएपछि प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्द खेद प्रस्ताव दर्ता गर्नुपर्ने माग उठेको छ । आज बसेको समितिको बैठकमा नेकपा एमालेका सांसद भीम रावलले खेद प्रस्ताव पारित गर्न प्रस्ताव गर्नुभएको हो ।

अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का बारेमा जानकारी लिन निम्त्याइएका प्रधानमन्त्री देउवाले अन्तिम समयमा अनुपस्थित हुने जानकारी दिएपछि आक्रोशित् रावलले यस्तो प्रस्ताव गर्नुभएको हो ।

प्रधानमन्त्रीले अनुत्तरदायी व्यवहार देखाएको आरोप लगाउँदै रावलले बैठकले निर्णय गरेर देउवाप्रति खेद व्यक्त गर्नुपर्नेमा जोड दिनुभयो ।