लण्डन, अंशु गुरुङ बेलायती सेनाको उच्च तहमा पुग्ने पहिलो नेपाली महिला बनेकी छन्। २७ वर्षीया गुरुङ हालै बेलायती सेनाको क्याप्टेन पदमा नियुक्त भएकी छन्।
बेलायती सेनामा नेपाली युवाहरु भर्ती हुन लागेको दुई सय वर्षभन्दा बढी भइसके पनि उक्त पदमा अहिलेसम्म कुनै पनि नेपाली महिला पुग्न सकेका थिएनन्। अंशुले पहिलोपटक आफू सो पदमा पुग्न सफल भएकोमा ज्यादै हर्षित भएको बताइन्।
बेलायती सेनाको क्याप्टेन पदमा नियुक्त भएकी पेशाले दन्त चिकित्सक हुन्।
‘क्याप्टेन हुने पहिलो नेपाली हुन पाएकोमा निकै गर्वको महसुस गरेकी छु’, अंशुले भनिन्, ‘बुबाले बेलायती सेनामा गरेको योगदानबाट मलाई पनि यही क्षेत्रमै लाग्न प्रेरणा मिलेको हो।’
गत वर्ष बेलायतको क्विन म्यारी युनिभर्सिटीबाट दन्त चिकित्सक (डेन्टिस्ट) को अध्ययन पूरा गरेपछि अंशु बेलायती सेना प्रवेश गरेकी थिइन्।
अंशुका पिता अमर गुरुङ भतूपूर्व गोर्खा सैनिक नै हुन्। उनले आफनी छोरीले प्राप्त गरेको सो सफलताप्रति निकै गौरव लागेको प्रतिक्रिया दिए। अंशुका हजुरबुवा रामप्रसाद गुरुङ भने भारतीय सेनामा थिए। उनले प्रतिष्ठित महावीरचक्र समेत पदक प्राप्त गरेका थिए।
नेपालको पुख्र्यौली घर कास्कीको पोखरा रहेका अंशुका परिवार हाल बेलायतको फार्नबरोमा बस्दै आएका छन्।
केही नेपाली किशोरीहरु बेलायती सेनामा भर्ती भए पनि क्याप्टेन पदमा अंशुको प्रवेशले थप नेपाली युवतीहरुलाई बेलायती सेनातर्फ थप आकर्षित गर्ने विश्वास गरिएको छ।
गोर्खा रेजिमेन्टमा नेपालबाट पनि युवतीहरु भर्ना गर्ने बेलायतको योजना रहे पनि अहिलेसम्म सो योजना कार्यान्वयन हुन सकेको छैन। -प्रजय शुक्ल/nepalkhabar