काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन्।
मंगलबार साँझ राष्ट्रपति भण्डारीले छलफलका लागि बोलाएपछि उनी शितल निवास पुगेका हुन्।
नेकपाको शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले १९–पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेपछी नेकपाको विवाद जटिल मोडमा पुगेका बेला राष्ट्रपति भण्डारीले प्रचण्डलाई बोलाएकी हुन्।
प्रचण्डले सो बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रामक प्रतिवेदन पेस गरेपछि नेताहरुको विवाद निर्णायक चरणमा प्रवेश गरेको बताइएको छ।
सो प्रतिवेदनमा प्रचण्डले ओलीलाई पार्टी र सरकारलाई एकलौटी रुपमा सञ्चालन गर्न खोजेको, कमिटी निर्णय नमानेको लगायतका आरोप लगाएका छन्।
शुक्रबारबाट सुरु भएको नेकपाको सचिवालय बैठक भोलि बस्दैछ।
प्रधानमन्त्री ओलीले प्रचण्डको राजनीतिक प्रस्ताव फिर्ता नभई बैठक बस्न नसक्ने अडान लिएका थिए।
सो प्रस्ताव फिर्ता गराउन वा बैठक सार्न महासचिव विष्णु पौडेलले गरेको प्रस्ताव पनि प्रचण्डले अस्वीकार गर्दै बैठकमै छलफल गर्ने बताएपछि नेकपा बिभाजनको संघारमा पुगेको भन्दै राष्ट्रपति भण्डारीले सक्रियता बढाएकी हुन्।
राष्ट्रपति भण्डारीले आइतबार प्रधानमन्त्री ओलीलाई भेटेका थिइन्।