चित्रबहादुर केसीको स्वास्थ्य अवस्था गम्भीर, सहयोगको अपीलमा छोराको आपत्ति किन ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वमन्त्री चित्रबहादुर केसी कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका छन् । केही दिन अघिबाट निमोनियाले ग्रस्त भएका उनको स्वाब परीक्षण गर्दा मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

हाल केसीको मेडिसिटी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको पार्टीका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
केसीको लामो समयसम्म अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएकाले सहयोग गर्न समेत जनमोर्चाले अपिल गरेको छ ।

बुधबार बसेको पार्टीको बैठकले अध्यक्ष केसीको उपचारमा लाग्ने खर्च जुटाउन सहयोग संकलन सुरु गर्ने समेत निर्णय गर्दै उपचारमा सहयोग गरिदिन पार्टीका कार्यकर्ता र शुभचिन्तकलाई अनुरोध गरिएको छ । उनको उपचारमा सहयोग गर्न चाहनेले राष्ट्रिय जनमोर्चाका नाममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा रकम जम्मा गर्न सक्ने सो पार्टीले जनाएको छ ।

केसीका जेठा छोरा सचित्र केसीले भने आफ्नो बुबा खतरामुक्त रहेको भन्दै अनावाश्यक हल्ला गरेर पैसा उठाउने बहानामा नफस्न अनुरोध गरेका छन् । उनले फेसबुकमा एक पोष्ट गर्दै ‘बुबा खतरामुक्त हुुनुहुन्छ । अनावाश्यक हल्ला गरेर पैसा उठाउने बहानामा कोहीपनि नफस्नुहोला । आवश्यक परे हामी पारिवारिक रुपमा सूचना गर्नेछौँ’, भनेका छन् । तर जनमोर्चा सम्बद्ध स्रोतले त्यसलाई पार्टीलाई बदनाम गराउने उनको जेठा छोराको ‘स्टन्ट’ भनेको छ । सो सूत्रका अनुसार, शुरुदेखि नै आफ्ना बुबाले लिएका राजनीतिक लाइनको विरोधी रहँदै आएका सचित्रले अहिलेसम्म आफ्ना बुबालाई खासै सहयोग नगरेको तथा अध्यक्ष केसीलाई कान्छा छोराले मात्रै आर्थिक सहयोग गर्दै आएको जानकारी दिएको छ । -Ratopati