आफू अमेरिकाको राष्ट्रपतिमा विजयी भएपछि जोय बाइडेनले कोरोना रोक्ने उपाय थालेका छन् । अमेरीका सन्सारको सबै भन्दा बढि कोरोनाबाट प्रभावित मुलुक भएको छ । ट्रम्पको गलत नीतिकै कारण यति मानिसहरुको ज्यान गएको भन्दै उनले अब आफूले कोरोना रोक्ने बताएका छन् ।
कोरोना रोक्नका लागि उनले पहिलो कामअन्तर्गत कोरोना महामारी रोक्नका लागि कोभिड १९ टास्क फोर्स गठन गरेका छन् । १३ सदस्यीय टास्क फोर्समा तीन सहअध्यक्ष र एक सदस्य छन् । यस विषयमा बाइडनेले वैज्ञानिक र विशेषज्ञको सल्लाह लिने बताएका छन् ।
उनले भने, ‘कोरोना महामारी रोक्नु र जनजीवन सामान्य बनाउनु गर्नु मेरो प्रशासनको पहिलो प्राथमिकता हो । लगातार फैलिरहेको भाइरसको फैलावट रोक्नु र खोप पत्ता लगाउनु मेरा लागि ठूलो चुनौती हो ।’
जो बाइडेनले कोरोना महामारीको दोस्रो लहर आउन बाँकी रहेको भन्दै सबैलाई मास्क लगाउन अपिल पनि गरे । उनले भने, ‘कोरोना महामारीको अझै खतरनाक दोस्रो लहर आउन बाँकी नै छ । यसकारण हामी सबैले मास्क लगाउने तथा आवश्यक सुरक्षाका सबै उपाय अपनाऔं ।’
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारीको सुरुवातमा त मास्क बहिष्कारै गरेका थिए भने सार्वजनिक कार्यक्रममा समेत उनी बिनामास्क हिँडेका थिए ।
अलि पछि मात्र उनी मास्क लगाउन बाध्य बनेका थिए । तर पनि उनले कोरोनाबाट बच्न मास्क लगाउनुपर्छ भनेर आम नागरिकलाई कहिले भनेनन् ।