काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की शीर्ष तहमा आन्तरिक विवाद चर्किँदै गएपछि सहमति जुटाउनका लागि छ युवा नेताहरू विशेष रुपमा सक्रिय भएका छन्।
भदौं २५ मा युद्धविराम गराउन सफल भएका विघटित कार्यदलका ६ जना नेताहरू अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलगायत अन्य शीर्ष नेताहरूलाई भेटेर सहमति जुटाउने प्रयास थालेका छन्। पार्टीभित्रको विवाद समाधानका लागि सुझाव दिन गत साउन ३० गते महासचिव विष्णु पौडेलको नेतृत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल र पम्फा भुसाल रहेको कार्यदल गठन भएको थियो।
छ युवा नेताहरूले प्रधानमन्त्री ओलीसँग सोमबार भेट गर्दैछन्। उनीहरूले पार्टीलाई दुर्घटनाबाट जोगाउनका लागि विशेष पहल गर्न आग्रह गर्ने बताइएको छ। सचिवालय बैठक बोलाउन बहुमत सदस्यहरुले ओलीलाई दिएको अल्टिमेटम सोमबार सकिँदैछ।शुक्रबार प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसहितका सचिवालयका बहुमत सदस्यहरूले ओलीलाई भेटेर बैठक बोलाउन लिखित पत्र बुझाएका थिए। ओलीले दबाबमा बैठक नबोलाउने अडान राख्दै आएका छन्।
कार्यदलले ओली र दाहालबीच गत वर्ष मंसिर ४ गते भएको कार्यविभाजन सम्बन्धी सहमतिलाई पुर्नव्याख्या गर्दै ओलीले पुर्णरुपमा सरकार चलाउने र प्रचण्डले पुर्णरुपमा पार्टी चलाउने तर एकअर्कासँग समन्वय गर्नुपर्ने प्रस्तावसहितको प्रतिवेदन दिएको थियो।विघटित कार्यदलले दिएको प्रतिवेदनका आधारमा भदौं २५ मा १५ बुँदे युद्धविराम भएको थियो।
पार्टीको निर्णय र सहमतिको उलंघन गर्दै प्रधानमन्त्री ओलीले आफूखुसी राजदूतहरु नियुक्त गरेको, मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीभित्र कुनै परामर्श नगरेको, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न उक्साएको, सीमा लगायत विषयमा संवाद ठप्प भएका बेला भारतको गुप्तर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई भेटेर त्यसलाई उपलब्धीका रुपमा प्रचार गरेको र पर्सामा पूर्वमाओवादी पृष्ठभूमिका मुकेश चौरसियाको हत्या हुँदा दोषीलाई कारबाही नगर्न दबाब दिएको आरोप लगाउँदै प्रचण्ड-नेपाल पक्ष यतिबेला ओली टिमसँग रुष्ट भएको छ। -अन्नपूर्ण