काठमाडौ । सत्तारुढ नेकपाको विवादका कारण पार्टी नै फुटको संघारमा पुगेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संवादको प्रयासलाई पुष्पकमल दाहाल प्रचण्डले ठाडै अस्वीकार गरिदिएका छन् । ओलीले सोमवार प्रचण्डलाई टेलिफान गर्दै बालुवाटार बोलाएका थिए ।
उनले सुरुमा आफुहरुबीच सहमति गर्ने र त्यसपछि सचिवालय बैठकमा जाने प्रस्ताव प्रचण्डलाई राखेका थिए । तर प्रचण्डले ओलीसंगै एक्लै कुराकानी गर्ने प्रस्ताव अस्विकार गरिदिएको बुझिएको छ । दुई अध्यक्षबीच सहमति गरेर मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेको एक नेताले बताएका छन् ।
लामो समय देखि पार्टीमा विवाद भइरहँदा कार्यकर्तामा अन्यौलता बढेको भन्दै ओलीले समस्या समाधानका लागि प्रयास थालेको भएपनि सफल हुन सकेन । बारम्बार दुई अध्यक्ष बीच भएको सहमति कार्यान्वयनमा ओलीले बेइमानी गरेको भन्दै प्रचण्ड बालुवाटार नगएको बुझिएको छ ।
प्रचण्डले अब एक्लै कुराकानी नगर्ने जे कुरा गर्ने हो बैठकमै गर्ने जवाफ ओलीलाई दिएका थिए । सोमबार साँझ ओली र प्रचण्डबीच टेलिफोन संवाद भएको थियो। प्रधानमन्त्री ओलीले पहिला दुई अध्यक्ष सहमति गर्ने अनि मात्र पार्टी कमिटीको बैठक बोलाउन गरेको प्रस्तावलाई प्रचण्डले अस्वीकार गरेको उनीनिकट एक नेताले बताए।
नेकपामा अहिलेसम्म स्थापित सिस्टम र प्रक्रिया भनेकै दुई जना अध्यक्षको बीचमा सहमति, अनि त्यो सहमतिको आधारमा सम्पूर्ण प्रक्रिया अगाडि बढ्ने भएकाले ओलीले राखेको प्रस्ताव प्रचण्डले मान्नुपर्ने नेकपा नेता सुभास नेम्वागंको भनाई छ । यस अघि भएका सबै निर्णय दुई अध्यक्षबीचको सहमति पछि भएका कारण त्यही नै बिधी र प्रकृया भएको उनको भनाई छ ।