आगामी साताबाट मनसुन सकिने सम्भावना, त्यसअघिसम्म कस्तो रहला मौसम?

काठमाडौं, असोज १९ । मनसुन अर्थात् धेरै वर्षा गराउने मौसमी प्रणाली आगामी साताबाट नेपालको पूरै भूभागबाट बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।

मौसमविद् समीर श्रेष्ठका अनुसार नेपालको सदूरपश्चिमदेखि ५ नम्बर प्रदेशको पश्चिमी भागसम्म गत बिहीबारदेखि नै मनसुन हटिसकेको भए पनि त्यसयता पूर्व प्रदेश १ सम्म अझै हटेको छैन।

उनका अनुसार बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून न्यन चापीय क्षेत्रको प्रभावले ५ नम्बर प्रदेशदेखि पूर्वका क्षेत्रमा मनसुनी गतिवधि (मौसम बदली, हल्का वर्षा) जारी नै रहेको हो।

‘तर अब आउने सातासम्म नेपालबाट मनसुन पूरै बाहिरिने अनुमान गरेका छौं,’ मौसमविद् श्रेष्ठले भने ।

उनका अनुसार मनसुन सकिएपछि औपचारिक रूपमा वर्षायामको अन्त्य हुन्छ र हिउँद सुरु हुन्छ।

हुन त सामान्य मितिबमोजिम नेपालबाट मनसुन गत सेप्टेम्बर २७ मै बाहिरिइसक्नुपर्ने हो। तर भनेकै मितिमा बाहिरिँदैन। केही दिन तलमाथि पर्छ।

मौसमविद्का अनुसार केही वर्षयता मनसुनको अवधि लम्बिएको छ। यस वर्ष त झन् मनसुन बाहिरिने भनिएको मिति सेप्टेम्बर २७ आसपास चार पाँच दिन देशभर ठूलो वर्षा भएको थियो।

माैसम पूर्वानुमान महाशाखाले साेमबार बिहान ६ बजे जारी गरेकाे आगामी तीन दिनको मौसम अनुमान :
असोज १९ गते सोमबार
दिउँसो : प्रदेश १, प्रदेश २, र बागमती प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा र बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज २० गते मंगलबार
दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १ मा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रही प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज २१ गते बुधबार
दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १ मा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*