जुम्ला : प्रहरीले डा.गोविन्द केसी बसेको होटल घेराउ गरेको छ। आफुले राखेका माग पूरा नभएसम्म अनशन बस्ने चेतावनी दिएर जुम्ला पुगेका डा. केसी बसेको होटल प्रहरीले घेराउ गरेको हो। प्रहरीले निस्किन नदिएपछि उनले अनशन एक हप्ताका लागि स्थगित गरेका छन्। आफ्ना माग पूरा नभएको भन्दै भदौ ११ गतेदेखि डा. केसीले सत्याग्रह घोषणा गरेका थिए।
डा. गोविन्द केसीले आफू जुम्लामा प्रहरी घेराबन्दीमा परेको बताएका छन्। ‘म अहिले पनि प्रहरी घेराबन्दीमा छु। म बसेको होटल बाहिर प्रहरी तैनाथ छ। मलाई आज दिनभरि अस्पताल जान प्रहरीले रोके,’ जुम्लाको होटल रोयल गार्डेनमा रहेका वरिष्ठ चिकित्सक केसीले बिहीबार राति सेतोपाटीसँग भनेका छन्, ‘एउटा स्वास्थ्यकर्मी स्वास्थ्यको प्रोटोकल पालना गरेर निस्किन खोज्दा प्रहरी-प्रशासनलाई किन टाउको दुखाइ?’
चिकित्सा शिक्षा सुधार अभियन्ता केसी साउनदेखि जुम्लामा छन्। उनी दुई वर्षअघि त्यहीँ गएर अनसन बसेका थिए। सरकारले जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने, एमबिबिएस र डिग्रीको पढाइ सुरू गर्ने सम्झौता गरेको थियो। यो दुई वर्षमा जुम्ला मा तीन सय बेडको अस्पताल बन्यो, तर डा. केसीसँगको सम्झौता पूर्ण पालना भएन। एमबिबिएस र डिग्री अझै सुरू भएको छैन।
‘म अनसन बस्छु भन्ने थाहा पाएपछि सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिग्री चलाउने निर्णय गर्यो भन्ने सुनेको छु’ केसीले भने, ‘तर यो कत्तिको आधिकारिक हो, मैले पनि बुझ्न पाएको छैन।’ यसबीच अनसन बस्न लागेको खबर पाएपछि प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख आएर उनलाई एक साता समय दिनुस् भने।
‘म अनसन बस्छु भनेर उहाँहरूले १ गतेदेखि नै निषेधाज्ञा लगाउनु भएको छ, तर यहाँ महामारीको ठूलो समस्या छैन,’ केसीले भने, ‘त्यसपछि भदौ १० देखि पाँच दिनका लागि निषेधाज्ञा बढाउनु भएको छ ।’ उनले अगाडि भने, ‘प्रधानमन्त्रीलाई पद टिकाउने चिन्ता छ, नेताहरूलाई सत्तामा पुगौंला भन्ने छ, यता म अनसन बसुँला भनेर प्रशासनलाई निषेधाज्ञा बढाउने चिन्ता छ।’
उनी बिहीबार बिहान होटलबाट निस्किन खोज्दा प्रहरीले रोकेर ‘तपाईंलाई निस्किने आदेश छैन’ भन्यो । जबकि उनी प्रशासनको आग्रह मान्दै तत्काललाई अनसन स्थगित गर्ने निधोमा पुगिसकेका थिए । ‘प्रशासनको कुरा मानेर मैले सत्याग्रह स्थगित गर्ने निधो गरि सकेको थिएँ। प्रतिष्ठानमा गएर केही कुरा बुझौं भन्ने सोचमा थिएँ,’ केसीले भने, ‘प्रशासनले त मलाई बाहिरै निस्किन नदिनू भनेर प्रहरीलाई भनेको रहेछ।’
केसीले राजनीतिक नेतृत्वप्रति गहिरो असन्तुष्टि पोखे, ‘म एउटा चिकित्सकलाई अनसन बस्नबाट रोक्न किन यति मेहनत गर्नुपर्यो ? प्रधानमन्त्री, मन्त्री नेताहरूलाई को’रोना भन्दा सत्ताको माया छ, भ्रष्टाचार गर्न पाउनुभएकै छ, म अनसन बस्न खोज्दा उहाँहरूलाई किन चित्त दुख्छ?’ यसबारे जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापासँग कुरा गर्दा उनले साउन ३२ देखि जिल्लामा निषेधाज्ञा लागू गरिएको र उक्त निषेधाज्ञाको समय बढाउनुपर्ने भएकाले केसीलाई सत्याग्रहको मिति सार्न अनुरोध गरेको बताए।
‘कोभिडको बेला छ, निषेधाज्ञा छ, उहाँको माग जायज होला। तर, नि’षेधाज्ञामा हिँडडुल गर्न नदिने काम प्रहरीले गर्छ। सबैलाई कानुन लाग्ने, केसी डाक्टरलाई चाहिँ नलाग्ने भन्ने हुन्छ र?’ थापाले भने, ‘केसी सर एटिएम जान खोज्नुभएको रहेछ, प्रहरीले रोकेको हो, अरू केही भएको होइन।’ थापाले जिल्लामा संक्रमितको संख्या झन्डै ८० पुगेकाले निषेधाज्ञाको नियम बढाइएको बताए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस लगायत कार्यक्रम सञ्चालन र स्नातकोत्तर तहको अनुमति, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठन पाठन सुरू लगायत केसीका माग छन्। प्रदेश नम्बर दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धु रा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् भन्ने पनि उनले माग गरेका छन्।
Leave a Reply