सुदूरपश्चिममा अति भारी र काठमाडौंमा राति ११ बजेदेखि वर्षा, आजको के छ अवस्था?

काठमाडौं, साउन २५ । मनसुन क्रमशः सक्रिय हुँदै गएकाले देशभर वर्षा हुने क्रम बढेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार कर्णालीको चिसापानीमा १०४ मिलिमिटर र कैलालीको टीकापुरमा १०२.४ मिलिमिटर वर्षा भएको छ। यो गत १२ घण्टा (शनिबार साँझ ६ बजेदेखि आइतबार बिहान ६ बजेसम्म) को मापन हो।

माैसमविद्का अनुसार ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ भने सयभन्दा माथिकोलाई अति भारी वर्षा भनिन्छ।

यस्तै बितेको १२ घण्टामा धनगढीमा ९०.६ मिलिमिटर वर्षा भएको मौसमविद् प्रधानांगले जानकारी दिए।

यस्तै काठमाडौं उपत्यकामा शनिबार राति ११ बजेदेखि निरन्तर वर्षा भइरहेको उनले बताए। बिहान साढे ६ बजेसम्मको रेकर्डअनुसार काठमाडौं उपत्यकामा २३.२ मिलिमिटर वर्षा भएको छ। वर्षा अझै केहीबेर जारी रहने मौसमविद् प्रधानांगको अनुमान छ। तर पुन: अपराह्नबाट फेरि वर्षा हुने सम्भावना छ।

अहिले बिहान काठमाडौं उपत्यकासहित देशका सबै प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ। ‘कुनै ठाउँमा रातिदेखि नै वर्षा जारी छ भने कुनै स्थानमा बिहानदेखि भइरहेको हो,’ मौसमविद् प्रधानांगले भने, ‘सुदूरपश्चिमतर्फ अलि बढी वर्षा भइरहेको छ।’

उनका अनुसार मनसुनको न्यून चापीय रेखा शनिबार राति नै नेपालको तराई नजिक आइपुग्ने अनुमान गरिए पनि अहिलेसम्म नेपाल छोइसकेको छैन।

‘यो उत्तर (नेपाल) तर्फ सर्ने क्रम जारी नै छ,’ मौसमविद् प्रधानांगले आइतबार बिहान नेपालखबरसँग भने, ‘मेरो अनुमान आज (आइतबार) रातिसम्ममा यो रेखाले नेपालको तराई भूभाग छुनेछ।’

त्यसपछि १–२ दिन वर्षा अझ बढ्ने अनुमान गरिएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*