काठमाडौं, साउन १६ । आज (शुक्रबार) पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
अहिले बिहान काठमाडौं उपत्यकामा घाम देखिएको भए पनि उत्तरी भागबाट भर्खरै वर्षा सुरु भएको उनले जानकारी दिइन्।
‘यो घाम केही बेरपछि हराउने सम्भावना छ, आज माैसम कहिले घाम कहिले पानी हुने देखिन्छ,’ मौसमविद् मानन्धरले नेपालखबरसँग शुक्रबार बिहान ७ बजेतिर भनिन्, ‘उपत्यकाकाे उत्तरी भागबाट वर्षा सुरु भइसकेकाे छ।’
यस्तै राति पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
उनका अनुसार आगामी तीन दिनसम्म देशभर हल्कादेखि मध्यमसम्म तथा केही स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएको छ।
‘वर्षा केही बेर रोकिने, घाम लाग्ने र फेरि पर्ने,’ उनले भनिन्, ‘तीन दिनसम्म मौसम यस्तै रहने सम्भावना देखिएको छ।’
बुलेटिनअनुसार राति प्रदेश १ ,बागमती प्रदेश ,गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
Leave a Reply