साउनको पहिलो सोमबारः मन्दिर नखुले पनि पशुपतिनाथ पुगे भक्तजन

प्रविन कोइराला/काठमाडौं, साउन ५ । आज साउनको पहिलो सोमबार। सामान्य अवस्थामा शिवालय र मन्दिरहरुमा भक्तजनको ठूलै भीड लाग्थ्यो तर यसपटक विषम अवस्थाका कारण पशुपतिनाथ मन्दिरमा त्यस्तो रौनक देखिएन।

कोरोना महामारीका कारण यसपटक मन्दिर नखुलेको हो। त्यहाँ पुग्ने भक्तजन पनि मुखमा मास्क लगाएरै पुगेका थिए भने त्यहीँ बस्ने बाबाहरुको मुखमा पनि मास्क देखिन्थ्यो।

पशुपतिनाथ मन्दिरका सबै प्रवेशद्वार बन्द छन्। तर भक्तजन भने बिहानै मन्दिर परिसर पुगेका छन्। मुख्य मन्दिर नखुले पनि शवदाह लाइनका शिवलिंगमा उनीहरुले जल चढाएर फर्किएका हुन्।

साउनमा भगवान् शिवको विशेष आराधना गर्ने प्रचलन छ। त्यसमा पनि सोमबारलाई भगवान् शिवको महत्वपूर्ण दिन मानिन्छ। सोही कारण साउनको सोमबार शिवालयहरुमा बोलबम मेला नै लाग्ने गर्छ।-नेपाल खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*