काठमाडौं, असार १६ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको मनमुटाव सार्वजनिक रूपमै छताछुल्ल भएको छ।
मंगलबार बालुवाटारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबैबाट राजीनामा दिनुपर्ने माग गरे।
बैठकमा बोल्दै प्रचण्डले पछिल्लो समय ‘भारतले मलाई हटाउन खोज्दै छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिरेको बताए।
‘मदन जयन्तीका दिन तपाईंले भारतले विरूद्ध जे भन्नुभयो त्यसले पार्टीको प्रतिष्ठा गिरेको छ,’ प्रचण्डलाई उद्धृत गर्दै स्रोतले भन्यो,‘भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय प्रतिष्ठा कायम गर्न सकिन्न।’
प्रचण्डले ओलीलाई उनको राजीनामा दिल्लीले नभई पार्टीले माग्ने पनि बताएका थिए।
‘यसअघि पनि दिल्लीले होइन मैले तपाईंको राजीनामा मागेको हुँ। आज पनि दिल्लीले होइन म तपाईंको राजीनामा माग्दैछु। तपाईं प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुस्,’ प्रचण्डले बैठकमा भने।
प्रचण्डको यस्तो भनाइपछि प्रधानमन्त्री ओलीले नेकपाको पार्टी बैठकमा भएका कुरा र नयाँदिल्लीका मिडियामा आउने कुरा कसरी ठ्याक्कै मिल्छन् त भनेर प्रश्न सोधेका थिए।
बैठकमा अन्य नेताहरूले बोल्ने क्रम जारी छ। यसअघि बोलेका बरिष्ठ नेता झलनाथ खनाल र वामदेव गौतमले पनि प्रधानमन्त्रीको आफूलाई हटाउन भारत लागेको छ भन्ने अभिव्यक्ति गम्भीर भएको बताएका थिए।
Leave a Reply