सरकारले माया पिरतीमा पनि प्र,तिबन्ध लगाउन खोज्यो

काठमाडौँ । वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि दिने प्रावधानप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाले विरोध जनाएका छन्। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतका आधारमा अनुमोदन गरेर मंगलबार प्रतिनिधिसभा बैठमा प्रस्तुत भएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रावधान राखिएको छ।

हालसम्म नेपालले विवाह लगत्तै नागरिकता दिँदै आए पनि अब लागू गर्न खोजिएको सात वर्षे प्रावधानको विरुद्धमा तराईं क्षेत्रमा सडक आन्दोलनसमेत सुरु भइसकेको छ। कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुले निर्णय फिर्ता लिनु पर्ने बताए पनि सत्तारुढ नेकपा त्यसका लागि तयार छैन। जसपाका नेता लक्ष्मणलाल कर्ण नेकपाले माया पिरती गर्ने अधिकारलाई समेत खोस्न लागि परेको आरोप लगाउँछन्।

कर्णले भने, ‘सरकारले माया पिरतीमा पनि प्रतिबन्ध लगाउन खोज्यो। सात वर्ष पछि पनि सजिलै नागरिकता पाइँदैन। यसको नियत दुई देशबीच भइहरेको विवाह रोक्ने नै हो।’ उनले आजको समयमा समेत राजनीतिक अधिकार कटौती गरेर सरकार उल्टो बाटो हिँडेको बताउँछन्।

विवाह गर्ने वित्तिकै नागरिकता दिँदा देशलाई के नोक्सान भयो भन्दै कर्णले प्रश्न गरेका छन्। तुरुन्तै नागरिकता दिँदा राष्ट्रियतामाथि कुनै असर नपरेको र यसले झन् नेपालको अखण्डतालाई बलियो बनाएको कर्णको जिकिर छ।

‘भइरहेको प्रावधानले देशलाई के नोक्सान भयो? परिवर्तन राम्रोका लागि हुन्छ, नराम्रोका लागि हुँदैन, उनले अगाडि भने, ‘देशका मुख्य पार्टीले विरोध गरेको अवस्था छ। मधेसमा व्यापक विरोध भइरहेको छ। बह्ुमतको आधारमा पारित गर्नुपर्ने नियत नै खराब हो भन्ने हामीले देखेका छौं।’

कानुनका जानकारसमेत रहेका कर्णले अंगीकृत नागरिकतामा कडाइ गर्दैमा राष्ट्रियता बलियो नहुने उल्लेख गरे।

‘राष्ट्रियता भनेको माटो होइन, नागरिकको हृदय हो। जबसम्म अनुभुत गर्दैन तब सम्म राष्ट्रियता बलियो हुँदैन। राष्ट्रियताका लागि हो भने भन्नु पर्यो कि यहाँ आएका वैवाहिक अंगीकृतले कति हानी पुर्याए? यो देशको राष्ट्रियतालाई महिलाले भन्दा पुरुषले बढी असर गरिरहेको छ, हामीले नाम किन भन्नु। राष्ट्रियता कमजोर भयो भन्ने कुरा कुतर्क मात्र हो, कर्णले भनेका छन्।

उनले सात वर्षपछि नागरिकता दिँदा हिन्दू धर्ममाथि पनि आक्रमण हुने तर्क गरे। ‘रितीरिवाजमाथि आक्रमण गर्ने? हिन्दू परम्पराअनुसार विवाह गरेपछि देश मात्र होइन, कुल वंश र गोत्र पनि परिवर्तन भइहाल्छ। अहिलेसम्म हामी रोटी भेटीको सम्बन्ध भनिरहेका थियौं अब यस्तो कानुन आएपछि को भारतीय छोरी दिन्छ? कर्णले अगाडि भने,

‘सीता मात्र १४ वर्ष वनबास बसेकी हुन्, आजका महिला बस्ने होइन। यसले नेपाल भारतको सम्बन्धलाई अतिक्रमण गरेको छ। जब जब नेपालको भारतसँग सम्बन्धी बिग्रिन्छ, तब मधेसी अभागीहरु राज्यका आक्रमणमा पर्छौ। यो पनि मधेस माथिको आक्रमण नै हो।’

उनले भारतमा पनि वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि दिने व्यवस्था भए पनि नेपालको हकमा लागू नभएको दाबी गरे। सन् १९५० को सन्धिनले विवाह गरेर जाने वित्तिकै नेपाली महिलालाई राशन कार्ड र आधार कार्ड दिइने र त्यसले सबै काम गर्ने भएकाले नागरिकता आवश्यक नपर्ने बताए।

कर्णले संसदीय प्रक्रायबाट सात वर्षे प्रावधान नसच्याए सडक आन्दोलनमा जोन चेतावनी दिए। ‘संसदमा पनि असहमति विरोध जनाउँछौं। संसदले पनि कुरा सुनेन भने सडक बाहेक अरु उपाय छैन, उनले भने। – देशसञ्चारबाट

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*