देवराज पन्त,
मकवानपुर, ६ असार । मकवानपुरका एक प्रहरी इन्स्पेक्टर घुससहित नियन्त्रणमा परेका छन् । जिल्लाको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामबालक रायलाई १२ हजार रुपैयाँ घुस रकमसहित बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले नियन्त्रणमा लिएको छ ।
इन्स्पेक्टर रायलाई नियन्त्रणमा लिएको सम्बन्धमा बागमती प्रदेशका डीआईजी बसन्तकुमार लामाले लेनदेनमा रहेका उनलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धानपछि कारवाही प्रकृया अघि बढाइने जानकारी दिनुभयो । इन्स्पेक्टर रायलाई प्रदेश प्रहरी कार्यालय, हेटौंडामा नियन्त्रणमा राखिएको छ ।
उनलाई भीमफेदी गाउँपालिका वडा नम्वर ६ मा रहेको सगरमाथा होटलमा बसेर ठेकेदार दुर्गा लामासंग १२ हजार रुपैयाँ घुस रकम लिदालिदैं प्रदेश प्रहरी कार्यालयबाट गएको टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।
प्रहरी निरीक्षक रायले आफ्नो इलाकामा गलत गतिविधि र रकम लेनदेन गर्ने गुनासो आएपछि प्रदेश प्रहरीले उनलाई निगरानीमा राखेको डीआईजी लामाले बताउनु भयो । हेटौंडा कुलेखानी दक्षिणकाली हुँदै काठमाडौं जाने सडक खण्डमा सो इलाका प्रहरी कार्यालय पर्दछ ।-न्यूज२४
Leave a Reply