मनिराज पाण्डे,
कालिकोट, १८ जेठ । कालिकोटका स्थानीय तहले अपेक्षा गरे भन्दा बढी स्थानीयहरु बिभिन्न मुलकबाट भित्रिएपछि स्थानीय सरकारलाई क्वारेन्टाइन ब्यवस्थापन गर्न निकै सकस भएको छ ।
जेष्ठ ३ गते यता बिभिन्न मुलकबाट कालिकोट भित्रिनेको संख्या २ हजार ५ सय ७७ पुगेको छ । अझै भारत लगायत बिभिन्न मुलुकबाट जिल्लामा आउने क्रम नरोकिएकाले क्वारेन्टाइनको क्षमता बढाउन स्थानीय तह जानकारी गराइएको जिल्ला प्रशासन कार्यालय कालिकोटका सूचना अधिकारी युवराज गुरागाँइले बताउनु भयो ।
क्वारेन्टाइनको क्षमता भन्दा बढी स्थानीयहरु जिल्लामा फर्किन थालेपछि सम्बन्धित पालिकाले नै क्वारेन्टाइन ब्यवस्थापन गर्ने जिल्ला संकट ब्यवस्थापन केन्द्र सीएमसीले निर्णय गरेको छ । यस अघि जिल्ला बाहरिबाट आएका ब्यक्तिहरुलाइ अन्तरपालिका क्वारेन्टाइनमा राख्ने गरिएको थियो ।
दैनिक जिल्ला आउनेको दर बढ्दै गएको छ । आज मात्र ५ सय भन्दा बढी जिल्लामा आउदै छन्” डिएसपी स्यामबाबु ओलीले भन्नु भयो । जिल्ला बाहिरबाट आएकाहरु क्वारेन्टाइनमा बस्न नचाहने र बसी हालेमा धेरै सेवा सुविधा खोज्ने गरेको तिलागुफा नगरपालिका मेयर रतनबहादुर शाहीले बताउनु भयो ।
तिलागुफा नगरपालिकाको सत्यदेवी मावि जुविथा क्वारेन्टाइनमा रहेका बाजुराका एक सहित १९ जनामा शनिबार बेलुका कोरोना पोजिटिभ देखिएपछि स्थानीय त्रसित हुदै घर छोडेर लेख गाई बस्तु लिएर बर्षाको समय बस्ने अस्थायी घर खर्कतिर लागेको मेयर शाहीले बताउनुभयो ।
स्थानीयतहले निर्माण गरेको अधिकांश क्वारेन्टाइनमा घेरवारा नभएको, सय जना भन्दा बढीलाइ एउटै शौचालय, उचित खाना तथा खाजा नभएको क्वारेन्टाइनमा बस्नेहरुको आरोप छ ।
गाउँको स्कुलमा स्थानीयले क्वारेन्टाइन बनाउन नदिएपछि शुभकालिका गाउँपालिकाले त्रिपालबेरेर साना–साना छाप्राको क्वारेन्टाइन बनाएको छ । “गाउँमा क्वारेन्टाइन राखे गाउँका स्थानीय धम्काउन्छन् नराखे प्रशासन, हामी जनप्रतिनिधिले के गर्ने ?” खाँडाचक्र नगरपालिका ३ का वडा अध्यक्ष महाविर पाण्डेले भन्नुभयो ।
घेरवार नभएपछि क्वारेन्टाइनमा रहेका सूर्ति, स्याम्बार, विस्कुट, चाउचाउ खाने बहानामा बजार वा गाउँ पस्छन् । क्वारेन्टाइन बाट भागेर शुक्रबार मान्म सदरमुकाम पुगेका व्यक्तिलाइ प्रहरीले पुनः पक्राउ गरी क्वारेन्टाइनमा राखेको छ ।
कोरोना संक्रमितलाई जिल्लामा ल्याइयो
सत्यदेवी मावि जुविथामा कोरोना पोजिटिभ देखिएका १९ जनालाई जिल्लामा ल्याइएको छ । उनीहरुलाइ जिल्लामा रहेको कोभिड १९ आइसोलेसन सेन्टरमा राखिएको छ ।
आइसोलेसन सेन्टरमा एक जना डाक्टर सहित तीन जना स्वास्थ्य कर्मी र दुई जना कार्यालय सहयोगी रहने छन् । संक्रमितहरु कालिकोटका १८ र बाजुराका १ जना छन् ।
आइसोलेसन सेन्टरमा रहेकाहरुको पीसीआर रिपोर्ट जब सम्म नेगेटिभ आउदैन तब सम्म उनीहरु आइसोलेसनमा नै रहेने जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भयो ।
लकडाउनको उल्लंघन
आर्थिक बर्षको सकिनै लाग्दा जिल्लामा आवत जावत गर्नेको संख्यामा बृद्धि भएको छ । संक्रमण बढी रहेका बेला स्थानीय निकायबाट विकास निर्माण कार्यको भुक्तानी लिन र खाता खोल्न आउनेको संख्या बढेको छ ।
यस कार्यको थप संक्रमण निम्त्याउने खतरा बढ्दै गएको छ । दैनिक उपभोग्य बस्तुको बेचबिखन किनमेल र आउजाउ नरोकिएकाले जिल्लामा भयावहको अवस्था आउन सक्ने स्थानीय अगुवा दिनेश शाहीको ठहर छ ।-न्यूज२४
Leave a Reply