तेस्रो लटमा १६ टन स्वास्थ्य सामग्री भित्र्यायाे सेनाले

काठमाडौँ, १५ जेठ । अत्यावश्यकीय स्वास्थ्य सामग्री खरिदकाे जिम्मा पाएकाे नेपाली सेनाले चीनबाट तेस्रो लटकाे सामग्री बिहीबार भित्र्याएकाे छ ।

चीनसँग जीटूजी प्रक्रियाबाट खरिद गरेको स्वास्थ्य सामग्री (तेस्राे लट) बाेकेर नेपाल एयरलाइन्सकाे विमान बिहीबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको हाे । स्वास्थ्य सामग्री लिन बुधबार साँझ नै निगमको वाइडबडी विमान चीनकाे ग्वाङझाउ उडेकाे थियाे ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार ग्वाङझाउबाट स्वास्थ्य सामग्री लोड गरेर वाइडबडी बिहान ८ बजे काठमाडाैँ उत्रिएकाे हाे । तेस्राे लटकाे सामान करिब १६ टन ल्याइएको क्षेत्रीले जानकारी दिए ।

यसअघि सेनाले पहिलो लटमा केरूङ हुँदै स्थलमार्गबाट १० वटा कन्टेनरमा करिब ८ टन सामग्री ल्याएको थियो भने दोस्रो लटमा जहाजबाट १८.९ टन सामग्री ल्याएको थियो । सेनाले करिब २ अर्ब २६ करोड बराबरकाे ६७ थरी स्वास्थ्यसामग्री चीनसँग खरिद गरेको जनाइएकाे छ । गएकाे वैशाख पहिलो साता सेनाले करिब ३ सय ४१ टन स्वास्थ्य सामग्री खरिदका लागि चिनियाँ सरकारी स्वामित्वको सिनो फर्मासँग सम्झौता गरेको थियो । बाँकी सामग्री क्रमशः भित्र्याइने बताइएकाे छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*