क्वारेन्टाइन व्यवस्थापनका खटिएका वडाध्यक्षको मृ त्यु, कारोना परीक्षणको तयारी

शितल भट्ट

कञ्चनपुर, १४ जेठ । कोरोना कहर रोकथाम एवं नियन्त्रणका लागि युद्धस्तरमा खटिएका कञ्चनपुरका एक जनप्रतिनिधिको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका- ७ का वडाध्यक्ष कल्लु रानाको गएराति अचानक मृत्यु भएको हो । भारतबाट आएका वडाबासीको स्थानीय राष्ट्रिय मावि क्वारेन्टाइनमा व्यवस्थापन गर्न खटिएका वडाध्यक्ष रानाको एक्कासि ह्दयघातका कारण मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता रविन्द्र पौडेलले क्वारेन्टाइन व्यवस्थापनमा खटिएका वडाध्यक्ष फिल्डमा एक्कासि बेहोश भएको बताए ।

‘फिल्डमै बेहोश भएका वडाध्यक्षलाई तुरुन्तै एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल लगियो,’ प्रहरी प्रवक्ता पौडेलले भने, ‘अस्पतालले तत्कालै मृत घोषणा गरेकाे थियो ।’

प्रहरीका अनुसार ह्दयघातका कारण वडाध्यक्षको मृत्यु भएको हाे । क्वारेन्टाइन व्यवस्थापनमा खटिएका वडाध्यक्ष रानाको कोरोना भाइरस पनि परीक्षण गरिने भएको छ । घर-परिवार र कृष्णपुर नगरपालिका स्रोतले उनकाे स्वाब संकलन गरेर कोरोना परीक्षण गरिने बताए ।

नगरपालिकाले कोरोना महामारी रोकथामका लागि खटिएका जनप्रतिनिधिको दु:खद रूपमा अप्रत्यासित निधन भएको जनाएको छ । नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष रानाको मृत्युको खबरले उनकाे घर-परिवार, नगरपालिका एव काँग्रेस सहितका स्थानीय जनप्रतिनिधि स्तब्ध भएका छन् ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*