काेराेना काेषमा एनसेलकाे १० कराेड जम्मा, अरू कसले कति दिए (सूचीसहित)

काठमाडाैँ, १५ चैत । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले खडा गरेको कोरोेना कोष अहिलेसम्म १५ करोडभन्दा बढी रकम जम्मा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार शुक्रबार दिउँसोसम्म १५ करोड ३१ लाख ३ हजार २२२ रुपैयाँ जम्मा भएको छ । सो कोषमा सबैभन्दा बढी रकम सहयोग गर्नेमा एलसेल प्रालि रहेको छ । एनसेलले मात्र १० करोड रुपैयाँ सहयोग गरेको छ ।

यसैगरी कृषि विकास बैङ्कले १ करोड २५ लाख रुपियाँ सहयोग गरेको छ । निर्माण व्यवसायी कोष, भाटभटेनी सुपरमार्केट, एनईबीएलले पनि एक÷एक करोड जम्मा गरेका छन् ।

कोषमा नेपाली काँग्रेस केन्द्रीय कार्यालयले रु ५० लाख रुपियाँ उक्त कोषमा जम्मा गरेको छ भने राधामाधव समिति नेपालले रु १५ लाख जम्मा गरेको छ । हेटौँडा स्कुल अफ मेनेजमेन्टले १० लाख तथा एलआरआइ स्कुल काठमाडौँले १ लाख रकम जम्मा गरेको छ । यसैगरी नाम नखुलेका तथा एक लाख रुपियाँभन्दा कम सहयोग गर्ने विभिन्न सङ्घसंस्थाबाट गरी करिब २५ लाख रुपियाँ जम्मा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले २ महिनाको तलब, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले १ महिनाको तलब बराबरको रकम जम्मा गर्ने प्रतिबद्धता आएको छ ।

सरकारले चैत ९ गते आफ्नो तर्फबाट रु ५० करोड जम्मा गर्ने घोषणासँगै उक्त कोष सुरु गरेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*