वुहानका बासिन्दालाई अप्रिल ८ देखि अन्यत्र जान खुला गर्ने सरकारको तयारी

चीन, ११ चैत । कोरोना भाइरस (कोभिड–१९)बाट सर्वाधिक प्रभाव परेको चीनको हुवे प्रान्तको राजधानी वुहानका बासिन्दालाई आगामी अप्रिल ८ देखि अन्यत्र जान आउन खुला गरिने भएको छ ।

भाइरसको संक्रमण रोक्ने उद्देश्यले वुहानमा विगत दुई महिनादेखि लकडाउन गरिएको थियो । तर, वुहानबाट बाहिर जान चाहने व्यक्तिहरुले आफूसँग सरकारी स्वास्थ्य संस्थाले उपलब्ध गराएको हरियो स्वास्थ्य स्टिकर देखाउनु पर्नेछ ।

प्रान्तीय कोविड–१९ नियन्त्रण केन्द्रले जारी गरेको सूचनामा उहान बाहिरका स्वस्थ व्यक्तिमा कोरोना फैलिन नपाओस् भन्नका लागि निकै कडा नियमहरु र सावधानी अपनाउन नागरिकलाई आग्रह गरिएको उल्लेख छ ।

हुवे प्रान्तका अरु क्षेत्रमा बुधबारदेखि नै लागू हुनेगरी यातायात खुला गरिएको छ । हुवेमा अलपत्र परेका अन्यत्रका कामदारलाई हुवे बाहिर उनीहरुका कार्यस्थलमा सोझै पठाइने व्यवस्था मिलाइएको छ । हुवेमा अर्को सूचना जारी नहुँदासम्म स्कुलहरु भने बन्द हुनेछन् ।

गत जनवरी २३ मा उहान भित्रिने र बाहिरिने सवारी साधनमाथि रोक लगाइएको थियो । साथै शहरभित्र सार्वजनिक यातायात बन्द गर्नुका साथै वुहान बाहिरका उडान र रेलसेवा रोकिएको थियो । यही किसिमका उपायहरु हुवे प्रान्तका अरु क्षेत्रमा पनि लागू गरिएको थियो ।

विगत पाँच दिनसम्म लगातार कुनै कोरोना संक्रमित व्यक्ति नभेटिएको उहानमा सोमबार भने एक व्यक्तिमा कोरोना देखिएको थियो । पूरै हुवे प्रान्तमा सोमबार एक व्यक्तिमा मात्र कोरोनाको संक्रमण देखिएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*