काठमाडौं । अन्नपूर्ण बेस क्याम्पमा हराएका चार दक्षिण कोरियाली र तीन नेपालीको खोजी कार्य नेपालले औपचारिक रुपमा स्थगन गरेको छ ।
पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले आज बिहान बाह्रखरीसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।
उनले भने,‘‘केही दिनदेखि उद्धार टोली त्यहाँ खटिएको भए पनि एकदमै खोंच रहेको र हिउँ परिरहेकाले अहिले उद्धार गर्न नसकिने अवस्था आएको छ । त्यसैले उनीहरुलाई काम रोक्न भनेका छौं । उद्धारकर्ताकै ज्यान जोखिममा पर्न सक्ने अवस्था आएकाले यो निर्णय लिइएको हो ।’’
उनले अब हराएका मानिस बच्ने सम्भावना नरहेको र हिउँ पग्लेपछि मात्रै शव भेटिने अवस्था रहेको जनाए । तर, हिउँ पग्लिन अझै समय लाग्ने उनको भनाइ थियो ।
न्यूयोर्क टाइम्सले पनि सो सम्बन्धी समाचारलाई प्राथमिकताका साथ आज प्रकाशित गरेको छ । सो समाचारमा नेपालले बिहीबारदेखि सो सम्बन्धी निर्णय गरेको जनाइएको छ ।
न्यूयोर्क टाइम्सको समाचारमा सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेलाई उद्धृत गर्दै प्रयासका बावजुद सो घटनामा परेकाहरुलाई भेट्न नसकिएको जनाइएको छ ।
गएको शुक्रबार हिमपहिरो जाँदा कोरियन र नेपाली समेत ७ जना सो क्षेत्रमा हराएका थिए ।
Leave a Reply