भ त्किएनन् मनका गोठ : प्र हरी भ त्काउँदै, गाउँले फेरि बनाउँदै

जाजरकोट, ७ माघ । ‘घोर कली यसैलाई भन्छन्,’ डडेलधुरा आलीतालको धिमडामा प्रहरीले छाउगोठ भत्काइरहँदा स्थानीय वृद्धा धनसरा साउद गुनासो गर्दै थिइन्, ‘बाँच्नु र मर्नु मान्छेको हातमा छैन । ७३ वर्षसम्म छाउगोठमा बसेंं । न सर्पले टोक्यो, न निसास्सिएर मरें ।’

गाउँभरका छाउगोठ भत्काउने अभियान चलिरहँदा यसरी गुनासो गर्ने उनी एक्ली महिला होइनन् । प्रहरी भने उनका कुरा सुनेर मुस्कुराउँदै छाउगोठ भत्काउन लागि परिरहे । बेला–बेला छाउपडीले किशोरी र महिलालाई मर्का परेका घटना प्रकाशमा आउँदा प्रशासन, अधिकारवादी संस्था, प्रहरी सबै सक्रिय हुन्छन् ।

केही समय छाउगोठ भत्काउने अभियान चल्छ । फेरि अर्को घटना नहुँदासम्म सबै मौन हुन्छन् । मौन अवधिमा छाउगोठ पुनः ठडिएर परम्पराका नाममा सास्ती खेप्ने दिनचर्यामा महिला फर्किसकेका हुन्छन् । दुई दशकयता यो सिलसिला चलिरहेको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा मात्र होइन, तराईका कैलाली र कञ्चनपुरमा पनि अझै छाउगोठ परम्परा छ । ‘मैले छाउगोठ बनाएको छैन, तर छाउ भएका बेला घरभित्र कहिलै बसिनँ,’ आलीताल भित्रीसैनकी माया धामी भन्छिन्, ‘घरको तल्लो तलामा एउटा कोठा बनाएर बसें । छोरीहरू पनि पर सर्दा घरकै एउटा कोठामा बस्दै आएका छन् ।

छाउगोठ भत्काउने अभियानले मात्र समस्या समाधान हुन सक्दैन ।’ जोगबुढाका स्थानीय धर्मानन्द भट्टको अनुभव पनि उस्तै छ । ‘अहिलेकै जस्तो छाउगोठ भत्काउने अभियान पटक–पटक चलेकै हुन्,’ उनी भन्छन्, ‘अभियानका बेला हल्लीखल्ली हुन्छ, फेरि पहिलाकै अवस्था फर्किन्छ ।’

खर्च गरेर सञ्चालित अभियान पनि केही समयपछि निष्प्रभावी भएको देखेको उनले बताए । छाउ बार्न गोठमा बस्ने परम्परा हटेन । ‘छाउगोठ बनाएर बस्ने कुप्रथा हो भन्ने सबैलाई थाहा छ,’ उनले भने ‘दिनभरि अधिकारका नाममा छाउगोठ भत्काउने अभियानमा संलग्नहरू नै घर पुगेपछि महिलालाई छाउ बार्न बाध्य बनाउने गर्छन् ।’

चलन, धार्मिक मान्यताका डर, प्रभाव र यो कसरी कुप्रथाका रूपमा परिणत भयो भन्ने विषयमा सर्वसाधारण प्रस्ट नभएसम्म गोठ मात्रै भत्काएर निदान नहुने उनको भनाइ छ ।

‘समाजमा नराम्ररी जरो गाढेको छाउ प्रथा समाप्त गर्न मनमा गोठ भत्किनु आवश्यक छ,’ अधिकारकर्मी शीला जोशी भन्छिन्, ‘छुवाछूत र जातीय विभेद जसरी समाजमा विस्तारै कम हुँदै जान थालेको छ, त्यसरी नै यो कुप्रथाका विरुद्ध सबैले मानसिक रूपमा तयार हुनु आवश्यक छ ।’

छाउ गोठको विकल्पमा महिलालाई महिनावारीका बेला सुरक्षित कसरी राख्ने भन्ने विषयमा सोच्न जरुरी रहेको उनले बताइन् । ‘अभियानमा लागेकाहरूकै छोरी, श्रीमती र आमा आज पनि छाउगोठमा छन् । यस्तो भएपछि कसरी हुन्छ यो कुप्रथाको अन्त्य ?,’ उनले भनिन् । आलीतालकी महिला अगुवा धर्मादेवी राउतका छाउगोठ भत्काएपछि महिनावारी भएका महिलाहरू केही महिना पशुचौपाया राख्ने गोठमा बस्न थाल्ने बताउँछिन् ।

‘पहिले पनि यस्तै अभियान धेरै चले तर केही वर्ष नबित्दै फेरि गाउँ–गाउँमा छाउगोठ बनेका हुन्,’ उनले भनिन्, ‘समस्या गोठमा नभई चेतनामा छ । छाउ परम्परा नमान्नेविरुद्ध सामाजिक बहिष्कार भएका घटना पनि हाम्रै गाउँघरमा छन् ।’ कान्तिपुर दैनिकबाट

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*