काठमाडाैं । काठमाडौँमा विगत २४ घण्टा निरन्तर वर्षा भएको छ । बिहीबार साँझदेखिको निरन्तर वर्षा आज अबेर साँझ रोकिएको छ ।
पश्चिम न्यून चापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित देशैभर बदली र वर्षा भएको हो । मौसमी प्रणालीले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ४८ मिलिमिटर वर्षा भएको छ । मौसमविद् सजिना शाक्यले शुक्रबार रातिसम्म पश्चिमी न्यून चापीय प्रणाली कमजोर भई शनिबारदेखि मौसममा क्रमिक सुधार आउने बताइन ।
आज वीरेन्द्रनगरमा ६०, धनगढीमा ३८, डडेलधुरामा २२, भैरहवामा ४१, दाङमा २०, पोखरामा २६ र नेपालगञ्जमा १० मिलिमिटर वर्षा भएको महाशखाले जनाएको छ ।
काठमाडौँको न्यूनतम तापक्रम आठ दशमलव आठ र अधिकतम तापक्रम नौ डिग्री सेल्सियस रहेको छ ।
Leave a Reply