काठमाडौं, मंसिर २४ । नेपाल विद्युत् प्राधिकरणले ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त आयोजना निर्माणको विस्तृत अध्ययन प्रतिवदेन (डीपीआर) लाई अन्तिम रूप दिने तयारी गरिरहेको छ।
खोटाङ र ओखलढुङ्गाको सीमा क्षेत्र रभुँवाघाटदेखि डेढ किलोमिटर तल दूधकोसी नदीमा बाँध बाँधेर सुनकोसीमा पानी पु¥याउने र त्यहाँबाट छ सय मेगावाट विद्युत् उत्पादन गर्ने योजना प्राधिकरणले बनाएको खबर आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले लेखेका छन् ।
बाँधस्थलनजिकै अर्को विद्युत्गृहबाट थप ३५ मेगावाट विद्युत् उत्पादन गर्न खोजिएको छ । यसअघि भूमिगत विद्युत्गृह बनाएर ८३५ मेगावाट उत्पादन हुनसक्ने देखिएकामा आर्थिक तथा अन्य कारणले ६३५ मेगावाट नै बनाउने निष्कर्षमा प्राधिकरण पुगेको हो।
८३५ मेगावाटमा बनाउँदा वित्तीय प्रतिफल अनुपात ९.२ प्रतिशत र ६३५ मेगावाटमा बनाउँदा ९।६ प्रतिशत हुने अनुमान प्राधिकरणको छ।
आयोजना प्रमुख वसन्त श्रेष्ठका अनुसार अहिले परामर्शदाताले डीपीआर र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) तथा पूर्ण सम्भाव्यता अध्ययन प्रतिवेदन जनवरी अन्त्यसम्ममा बुझाउने छ ।
आयोजनाको इटालियन परामर्शदाता ईएलसी इलोक्ट्रो कन्सल्टले जापानको न्युजेकसँगको सहकार्यमा अध्ययन गरिरहेको छ । सम्झौताअनुसार परामर्शदाताले मङ्सिर २ भित्र बुझाउनुपर्ने कार्यसूची थियो।
पछिल्लो अध्ययनअनुसार आयोजनाको कुल लागत १.५५ अर्ब अमेरिकी डलर (१ खर्ब ७५ अर्ब रुपियाँ) रहेको छ । यसमध्ये एसियाली विकास बैङ्कले आयोजनाका लागि ५५ करोड डलर लगानीको प्रतिबद्धता जनाएको छ ।
Leave a Reply