काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत सुटिङ खेलमा नेपाली खेलाडीहरु वर्षौ पुराना हतियार बोकेर प्रतिस्पर्धा गरिरहेका छन् । घरेलु भुमिमै भईरहेको सागमा अन्य प्रतिस्पर्धी राष्ट्रसँग हतियार मागेर प्रतिस्पर्धा गर्नुपर्ने बाध्यतामा उनीहरु छन् । सुटिङमा स्वर्ण जित्ने आशा गरिएका खेलाडी पनि समयमा हतियार नचल्दा पदक जित्नबाट बञ्चित हुनुपरेको छ ।
शुक्रबार ललितपुरको सातदोबाटोमा भएको सुटिङमा ऐयर पेस्तोल महिला तर्फ दश मिटर रेञ्जमा प्रतिस्पर्धा गरेकी सेरिया केसीको समयमा हतियार नै चलेन् । जसका कारण १६ खेलाडीले सहभागिता जनाएको यो स्पर्धामा उनी १४औँ स्थानमा रहिन् । २० वर्ष पुरानो पेस्तोल बोकेर रेञ्जमा उत्रिएकी सेरिया पेस्तोलले समयमा काम नगरेपछि उनी पदक जित्नबाट चुकिन् । दश मिटर रेन्जमा प्रहार गर्ने नेपालसँग भएको एउटा मात्र पेस्तोल बोकेर रेञ्जमा उत्रिएकी उनको पेस्तोलले काम नगरेपछि पदक जित्ने आशा निराशामा परिणत भयो ।
सुटिङमा अब्बल मानिएकी सेरिया राष्ट्रिय कीर्तिमान बनाएकी खेलाडी हुन् । उनले आठौँ राष्ट्रिय खेलकुदमा पनि महिला तर्फ दश मिटर सुटिङमा प्रथम स्थान हासिल गरेकी थिईन् । तर, १३ औँ सागमा पदक जितेरै छाड्ने संकल्पमा रहेकी उनले खिया लागेका हतियारसँग पौठेजारी गर्नुपर्दा पदक गुमाउनुको पिडा उनका लागि असह्य बन्यो ।
शुरुमा त राम्रो रेञ्जमा टप फोरमै गईरहकी थिए तर, ‘सिलिण्डर चेञ्ज गरेपछि पेस्तोल नै पड्किएन सिरियाले गहभरी आशु पार्दै भनिन्, आफैलाई फाईनलमा पुग्छु भन्ने विश्वास थियो । तर, अन्तिम समयमा आएर पड्किएन ।’ कम्तीमा एउटा पदकको आशा गरेकी थिए तर, त्यो आशा पनि निराशामा परिणत भयो ।’
सागको तयारीकै क्रममा नै पेस्तोल बिग्रीरहेको भएपनि कसैले वास्ता नै नगरेको सेरिया भनाई छ । यता, नेपाल सुटिङ संघ भने नयाँ हातहतियार खरिदको प्रकृया निकै झन्झटिलो भएका कारण खेलाडीले यो मनोदसा व्यहोर्नु परिरहेको स्विकार गर्छ ।
हतियारका लागि गृह र खेलकुद मन्त्रालयलगायत सबै सरोकारवाला निकायहरूको सहमति चाहिन्छ । तर, आठ महिना अघिनै राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई राईफल, एयर राईफल, पेस्तोल, गोली लगायताका सामग्रीको लागि प्रस्ताव गरेपनि खरिदका लागि टेण्डर भए नभएको समेत थाहा नै नभएको नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठ बताउँछन् ।
हतियार लगायतका सामग्रीका लागि राखेपलाई प्रस्ताव गरेपनि अन्तिम समयसम्म राखेपले आश्वासन मात्रै बाडेको नेपाल सुटिङ संघका सचिब प्रदीप खातीको भनाई छ । सागको नेपालले सुटिङमा स्वर्ण जितेको इतिहास छ । सन् १९९१ मा श्रीलंकाको कोलम्बोमा सम्पन्न पाचौँ सागमा नेपालले स्वर्ण जितेको थियो । तर, राष्ट्रिय खेलकुद परिषद् र नेपाल सुटिङ्ग संघबीचको विवाद किनारा न लाग्दासुटिङ खेल ओझेलमा परेको छ नै खेलाडी समेत मारमा परिरहेका छन् ।-न्यूज२४/बिरेन्द्र जेरु
Leave a Reply