
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सूचना प्रविधि विधेयक र सरकारको कार्यशैलीप्रति आ क्रोश ब्यक्त गरेका छन् ।
विहीबार माइतीघर मण्डलामा नेपाल विद्यार्थी संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सूचना प्रविधि विधेयकले जनताको बोल्न पाउने अधिकार कुण्ठित गरेको आरोप लगाउँदै यो जनताको लागि नभएको समेत जिकिर गरे ।
थापाले राष्ट्रपतिलगायत केही नेताहरूलाई पुरानै राजामहाराजाको शैलीमा नागरिकको अधिकार खोस्न उद्दत भएको आरोप लगाउँदै भने -‘श्री ६ बडामहारानी विद्या भण्डारीकी जय, श्री ५ महाराजधिराज केपी ओलीकी जय, श्री ३ महाराजधिराज प्रचण्डकी जय भन्ने मान्छे बाँच्यो, बाँकी मान्छे गयो,अहिलेको सूचना प्रविधि विधेयकले गर्न खोजेको यही हो ?’
उनले सदनलाई सरकारले पहिलेदेखिनै थुरथुर बनाएर राखेको आरोप लगाउँदै भने- ‘सरकारले सदन त पहिलेदेखिनै थु रुथुरु बनाएको छ। विधेयककाे शब्द-शब्दमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटासँग छलफल गर्न तयार छु।’
थापाले सूचना प्रविधि विधेयकको विरोध गरिरहेका नेकपाका नेता भीम रावल र रामकुमारी झाँक्री समेत सरकारको निसानामा रहेको बताउँदै संसद बैठक सुचारु हुने बित्तिकै विधेयक रोक्न पहल गर्ने समेत उद्घोष गरे ।