उखु तौलन सडककै बा स

महेन्द्रनगर । भुक्तानी नपाएको भन्दै मध्य तराईका उखु किसान यति बेला काठमाडौंमा छन् । माग पूरा नभएसम्म राजधानी नछाड्ने अडानमा रहेका उनीहरू आफ्नै पीडामा छन् । तर कञ्चनपुरका उखु किसानको मर्का भने उनीहरूको भन्दा अलि फरक छ । जिल्लाको दक्षिणी क्षेत्रमा उखु विक्री शुरू त भयो, तर किसानलाई आफ्ना उखु मिलसम्म पुर्‍याउनै सास्ती भएको छ ।

किसानहरूले मिलसम्म उखु पुर्‍याएर तौलन २ दिनसम्म कुर्नुपरेको छ । खेतबाट उखु काटेर लोड गरिएका सयौं ट्र्याक्टर सडकमा लामबद्ध छन् । यस्तोमा किसानहरूलाई अर्को आपत् आइलागेको छ । तोलने लाइनमा लागिसकेका उखु छाडेर हिँड्दा चोरी हुने डर, त्यहीँ बसौं जाडोमा रात बिताउने गाह्रो । वर्षभरिको मेहनतको फल र जीविकाको स्रोत समेत उखु भएकाले किसानहरू चिसो सहेर पालो पर्खन बाध्य छन् ।

जिल्लाको दक्षिण क्षेत्र बेलौरी, पुनर्वास र बेलडाँडीका किसानलाई यतिबेला उखु काटेर बेच्ने चटारो छ । तर एकैपटक सबै किसानले मिल पुर्‍याउँदा तौलन भने घण्टौं पर्खिनुपरेको हो । बैलौरी नगरपालिका–६ हात्तीभोजका किसान नाथे रानाले उखु तौल्न २ दिनसम्म लाइन लाग्नुपरेको सुनाए । सुगर मिलले समयमै उखु नतौलिँदा कठ्यांग्रिँदो चिसोमा सडकमै बास भएको उनको गुनासो छ ।

मंगलवार बैलारीस्थित महाकाली सुगर मिलमा उखु बेच्न आएका किसान राना सडकमै सुते । ‘पालो कति बेला आउँछ थाहा हुँदैन, सडकमै कुर्दै बसेका छौं,’ उनले भने, ‘ट्रली छाडेर गयो भने टायरको हावा फुस्काइदिन्छन्, आफ्नो उखुको सुरक्षा गर्नैपर्‍यो ।’ चिसो समयमा सडकको बासले स्वास्थ्यमा समेत समस्या आउन थालेको उनले बताए ।

हात्तीभोजकै अर्का किसान प्रेम सिंह रानाले पनि उखु तौलिन निकै सास्ती खेप्नुपरेको दुःखेसो गरे । ‘पर्ची लिएर उखु तौलन लाइनमा लागेका छौं,’ उनले भने, ‘सडकमा करीब २ किलोमिटर लामो लाइन छ, कुर्दा कुर्दा हैरान भइसक्यौं ।’ राति सडकमै बास बस्नुपर्ने भएकाले उखु तौलिन आएका अधिकांशले ट्रलीमुनि खाट झुन्ड्याएर ल्याउने गरेका छन् । ‘घरबाटै लुगा र खाना बोकेर आउँछौं, राति ट्रलीमै सुत्छौं,’ बेलौरी–१० सडकघाटका परमल शाहीले भने, ‘एक पटक नम्बर छुटेपछि फेरि पालो पाउन गाह्रो हुन्छ ।’

करीब ८ हजार हेक्टरमा उखुखेती हुने दक्षिणी कञ्चनपुर मंसिर अन्तिमदेखि चैतसम्मै उखु काट्ने र मिल पु¥याउने काम भ्याइनभ्याइ हुने गर्छ । दक्षिणी क्षेत्रमा दुईओटा सुगर मिल छन् । दुवै मिलमा कृषकले उखुको तौल लिन लाइन लाग्नुपर्ने बाध्यता छ । महाकाली सुगर मिलका प्रशासन प्रमुख कालु सिंह ठगुन्नाले भने किसान आफ्नो पालोअगावै आउँदा सडकमा ठूलो लाइन भएको बताए । ‘मिलले उखु तौलन हरेक किसानलाई पर्ची दिने गरेको छ,’ उनले भने, ‘त्यसमा उखु तौलन आउने समय तोकिएको भए पनि किसान हतारिएर अगाडि नै आउँदा समस्या देखिएको हो ।’ उनका अनुसार मिलभित्र पनि उखु लोड गरिएका सयौं ट्र्याक्टर छन् । उक्त मिलले दैनिक २० हजार क्वीन्टल उखु तौलिएर पेल्ने गरेको छ ।-मदन गिरी/आर्थिक अभियान

Be the first to comment

Leave a Reply

Your email address will not be published.